साप्ताहिक संवाददाता
अभिनेता तथा गायक आशिफ शाहका भाइ हुन्— असिम शाह । झट्ट हेर्दा दुवैलाई जुम्ल्याहा दाजु–भाइ भन्दा पनि फरक पर्दैन, किनभने दुवैको अनुहार करिब–करिब उस्तै छ । गीत–संगीत, विज्ञापनदेखि चलचित्रसम्ममा उनीहरूले सँगसँगै काम गरेका छन् । यी दाजुभाइले हालसम्म दर्जनौं उत्पादनका टिभिसी निर्माण गरिसकेका छन् ।
यतिबेला यी दुई दाजुभाइ एउटै चलचित्रमा दुई भिन्न रूपमा प्रस्तुत भएका छन् । दाजु आशिफ अभिनेताका रूपमा प्रस्तुत भएको चलचित्र ‘दुई रुपैयाँ’ को निर्देशन भने भाइ असिमले गरेका हुन् । त्यसो त उनीहरू दुवै चलचित्रका निर्माता पनि हुन् । दाजु आशिफसहित निश्चल बस्नेत, मेनुका प्रधान, बुद्धि तामाङ, टीका पहारीसहितका कलाकारलाई निर्देशन गर्नु चुनौतीपूर्ण रहेको निर्देशक असिमले बताएका छन् ।
‘स्थापित कलाकारलाई निर्देशन गर्नु वास्तवमै चुनौतीपूर्ण हुँदो रहेछ, असिमले चलचित्रका गीत, पोस्टर तथा ट्रेलरले दर्शकको मन जितेकाले चलचित्रले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने आशा प्रकट गरे । जाबो दुई रुपैयाँ त हो नि भनिने सामान्य नोटको कथामा आधारित यो चलचित्रलाई दर्शकले व्यग्रताका साथ प्रतीक्षा गर्नु नै आफ्नो पहिलो सफलता भएको असिमको भनाइ छ ।