सिरहा नगरपालिकामा भदौंको गर्मीसँगै चुनावी वातावरण तातेको छ । कांग्रेसले सुभाषचन्द्र यादव र एमालेले नवीन यादवलाई प्रतिस्पर्धामा उतारेकाले पनि यहाँको चुनावी सरगर्मी बढेको हो ।
यी दुवै उम्मेदवारको पृष्ठभूमि एउटै छ । पेसाले दुवै चिकित्सक हुन । कांग्रेस उम्मेदवार डा. सुभाषचन्द्र एनेस्थेसियामा एमडी गरेका चिकित्सक हुन भने एमाले उम्मेदवार डा. नवीन यादव बाल रोग विशेषज्ञ हुन । चिकित्सक मात्र नभै दुवै सिरहाबाट निर्वाचित सांसद पुत्रसमेत हुन ।
डा. सुभाषकी आमा कांग्रेस कोषाध्यक्ष एवं पूर्वशान्ति मन्त्री सीतादेवी यादव अहिले पनि सांसद छिन् भने डा. नवीन पूर्वसांसद हेमनारायण यादवका छोरा हुन । बहुदलको स्थापनापछि हेमनारायण सिरहा क्षेत्र नं. ४ बाट साँसद निर्वाचित भएका थिए ।
प्रतिस्पर्धामा उत्रिएका दुवै चिकित्सकका बुबाको हत्या भएको थियो । २०४८ सालमा जिल्ला विकास समितिका सभापति भएका डा. सुभाषका वुवा चन्द्रनारायण यादवको २०५७ असार ५ गते हत्या भएको थियो भने डा. नवीनका वुवा तत्कालीन सांसद हेमनारायण यादवको २०६० माघ १९ गते हत्या भएको थियो । माओवादी द्वन्द्वको उत्कर्षका बेला ती दुवै नेताको हत्या गरिएको थियो । तत्कालीन सांसद हेमनारायणका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । यता नयाँ शक्तिबाट डा. दिलीप सदा प्रतिस्पर्धामा छन् । संघीय समाजवादी फोरमले पूर्वमेयर अशेश्वर यादवलाई प्रतिस्पर्धामा उतारेको छ । माओवादी केन्द्रबाट महेश गोप उम्मेदवार छन् ।
सिरहा नगरपालिका
जनसंख्या | ८२ हजार ५ सय ३१ |
मतदाता | ४२ हजार ६ सय ७२ |
४२ हजार ६ सय ७२ | क्षेत्रफल : ९४.३२ वर्गकिमी |
वडा संख्या | २२ |
प्रतिस्पर्धा तीव्र
८ नगरपालिका तथा ९ गाउँपालिका रहेको सिरहामा उम्मेदवारहरूले चुनावी नतिजा आफ्नो पक्षमा पार्ने अभियान तीव्र पारेका छन् ।संविधानसभा निर्वाचनमा ६ क्षेत्रमध्ये ४ क्षेत्रमा जित हासिल गरेको कांग्रेसले जिल्लामा पहिलो स्थान हासिल गर्ने दाबी गरेको छ भने संविधानसभामा १/१ स्थानमा जित हासिल गरेका एमाले तथा माओवादी केन्द्रले पनि अधिकांश स्थान आफूहरूको कब्जामा आउने दाबीका साथ चुनावी प्रचारलाई तीव्र पारेका छन् । उता, मधेस आन्दोलनपछि गुमेको साख फर्काउन मधेसवादी दलहरूले पनि आफ्नो प्रचार–प्रसारलाई गति दिएका छन् । चुनावमा मधेसी दलहरूबीच तालमेल नहुनु नै उनीहरूका लागि दुर्भाग्यपूर्ण भएको बुद्धिजीवीहरूको तर्क छ ।