असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी, नेपालसँगै अन्य दलहरू प्रदेश नम्बर–२ को सम्भावित राजधानी जनकपुर उपमहानगरपालिका कब्जा गर्ने रणनीतिमा जुटेका छन् । तेली, सुडी, कानु, कलवार (साहुजी) बहुल यो नगरको परिणाम आफ्नो पक्षमा पार्न जनाधार भएका सबैजसो दलले साह थरकै उम्मेदवारलाई मैदानमा उतारेका छन् । केही दलले भने नवधनाढ्यहरूलाई पनि मेयरको उम्मेदवार बनाएका छन् ।
बुधबार जनकपुर उपमहानगरपालिकाका मेयर, उपमेयर तथा २५ वटा वडाका वडाध्यक्ष एवं सदस्य गरी कुल १ सय २७ पदका लागि ७ सय ८० जनाले उम्मेदवारी दर्ता गराएका थिए । मेयरका लागि २० तथा उपमेयर पदमा १५ जनाको उम्मेदवारी परेको थियो ।
जनकपुर उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट मनोजकुमार साह, एमालेका लक्ष्मीनारायण भगत (साह), राष्ट्रिय जनता पार्टीका लालकिशोर साह, संघीय समाजवादी फोरमका विष्णुदेव साह, नयाँ शक्ति नेपालका उमेश साह, माओवादी केन्द्रका चन्द्रशेखर साह तथा फोरम लोकतान्त्रिकका हंसराज साह उम्मेदवार छन् । कमल थापा नेतृत्वको राप्रपाले राजकुमारी साहलाई तथा पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले रूपाकुमारी ठाकुरलाई मेयरको उम्मेदवार बनाएका छन् ।
राजनीतिक मोहर लाग्न बाँकी रहे पनि प्रशासनिक रूपले जनकपुर प्रदेश नम्बर–२ को राजधानी हुने लगभग पक्का छ । राजधानीका लागि आवश्यक प्रशासनिक एकाइहरू तथा उच्च अदालत सञ्चालनमा आइसकेको छ भन्ने भदौदेखि प्रहरी प्रदेश कार्यालय प्रदेश नम्बर–२ स्थापना भै अतिरिक्त प्रहरी महानिरीक्षक विजयलाल कायस्थको पदस्थापना समेत भैसकेको छ । यसैगरी धनुषाको धारापानीमा मध्य–पूर्व पृतना हेडक्वार्टर स्थापना भै पृतनापतिका रूपमा ईश्वर हमाल पदस्थापित भैसकेका छन् ।
सम्भावित प्रदेशको राजधानी कब्जा गर्ने चुनावी अभियानको थालनी कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए । दुई चरणको स्थानीय तहको निर्वाचनमा एमालेभन्दा ५० सिटले पछि परेका देउवाले यो प्रदेशमा १ सय तह जितेर पहिलो शक्ति बन्ने उद्घोष गरेका थिए । यता एमाले महासचिव ईश्वर पोखरेलले तेस्रो चरणको निर्वाचनमा पनि पहिलो शक्ति कायम रहने दाबी यहाँ आयोजित चुनावी भेलामा गरेका थिए ।
पूर्वमन्त्री रामचन्द्र झा, महेन्द्र पासवान, रामकुमार शर्मा आदि नेताहरूलाई पार्टी प्रवेश गराएपछि हौसिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक महिनाभित्र पटक–पटक जनकपुर पुगे । उनले पनि यो प्रदेशमा पहिलो शक्ति बन्ने दाबी गर्दै आएका छन् । यता मधेस आन्दोलनको उद्गमस्थल जनकपुरमाथि आफूहरूको कब्जा हुने दाबी राष्ट्रिय जनता पार्टी तथा संघीय समाजादी फोरम दुवैको छ ।
जनकपुर उपमहानगरपालिका
जनसंख्या | १ लाख ५३ हजार ६ सय १४ |
मतदाता | ७२ हजार २ सय ९३ |
क्षेत्रफल | ८५ दशमलव ९९ वर्गकिलोमिटर |
वडा संख्या | २५ |
कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री विमलेन्द्र निधिको गृहजिल्ला धनुषा कांग्रेसको गढ मानिन्छ । दोस्रो संविधानसभा निर्वाचनमा धनुषाका ७ संसदीय निर्वाचन क्षेत्रमध्ये कांग्रेस ५ मा विजयी भएको थियो भने एमाले तथा सद्भावना पार्टी एक–एक स्थानमा विजयी भएका थिए । दोस्रो संविधानसभामा जनकपुर नगर क्षेत्र (धनुषा क्षेत्र नम्बर–४) बाट भने सद्भावनाका संजय साह (हाल निलम्बित) कांग्रेस प्रत्याशी रामसरोज यादवलाई पराजित गर्दै लगातार दोस्रो पटक विजयी भएका थिए ।
जनकपुर उपमहानगरपालिकामा कांग्रेसको संगठन बलियो भए पनि गएका दुई संविधानसभा निर्वाचनमा मधेसकेन्द्रित दलका संजय साह विजयी हुनुले मधेसवादी दलहरूको शक्ति कमजोर नभएको संकेत गर्छ । यस पटक पनि नगर क्षेत्रमा कांग्रेस र राजपाबीच नै कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
यद्यपि नगरपालिकामा पछिल्लो पटक जोडिएका अन्नुपटी, मानसिंहपटी, वेंगा शिवपुर, लोहनाआदि ग्रामीण इलाकाहरूमा एमालेको संगठन पनि बलियै मानिन्छ । यता नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति उमेश साहको उम्मेदवारीपछि नगरमा चौथो शक्तिसमेत देखा पर्न थालेको छ । उमेश नयाँ शक्ति नेपालका तर्फबाट उम्मेदवार भएका हुन् ।
एसियन विकास बैंकको सहयोगमा संचालनमा रहेको एकिकृत सहरी विकास आयोजना तथा जनकपुर रेल्वेको स्तरोन्नति निर्धारित समयमा पूरा गराउनु, बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालन तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समाहित गराउनु अब निर्वाचित हुने मेयरका लागि मुख्य चुनौती हुनेछन् ।