चुनावको मिति नजिकिँदै जाँदा मधेस आन्दोलनको उद्गम स्थल लहान यतिबेला चर्चाको शिखरमा छ । लहानबाट सुरु भएको २०६३ को माघे मधेस आन्दोलनपछि स्थापित मधेसवादी दल अस्तित्वरक्षाका लागि तथा मूल धारका राजनैतिक दल आफ्नो साख फर्काउन लागिपरेपछि लहानको चुनावी चर्चा चुलिएको हो ।
लहानमा प्रभाव जमाउन पूर्वमेयरसहित राजनैतिक हस्तीहरू प्रतिस्पर्धामा उत्रिएकाले पनि यहाँ चुनावी सरगर्मी बढेको हो । २०३७, २०४३ र २०४८ मा प्रधानपञ्च र लहान नगरपालिकाको मेयर भैसकेका लगनलाल चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिस्पर्धामा छन् । एमालेले २०५४ सालमा मेयर जितेका मुनि साहलाई मैदानमा उतारेको छ । कांग्रेसले दुई दशकसम्म निरन्तर पार्टीको क्षेत्रीय सभापति रहेका अनुभवी नेता अचमितलाल चौधरीलाई अगाडि सारेको छ ।
मधेस आन्दोलनको जस लिन संघीय समाजवादी फोरमबाट युवा पुस्ताका सिभिल इन्जिनियर वैधनाथ साह प्रतिस्पर्धामा छन् । मधेसको मुद्दा उठाउँदै आएको राष्ट्रिय जनता पार्टीले इतिहासमा विद्यावारिधि डा. महादेव साहलाई प्रतिस्पर्धामा उतारेको छ । माओवादी केन्द्रले वामपन्थी राजनीतिमा सक्रिय खड्गनारायण चौधरीलाई अघि सारेको छ ।
लहानमा प्रतिस्पर्धामा उत्रिएका पुराना र नयाँ पुस्ताका राजनैतिक हस्तीहरूले विकासका एजेन्डा अघि सारेर मतदाताहरूको मन जित्ने प्रयास गरेका छन् । अधिकांश उम्मेदवारको घोषणापत्रमा गुरुयोजना सहितको समृद्ध नगरको परिकल्पना गरिएको छ । २०३२ सालमा स्थापित लहान नगरपालिकामा ४७ हजार २ सय ९७ मतदाता छन् ।
लहान नगरपालिका
जनसंख्या | ९१ हजार ७ सय ६६ |
मतदाता | ४७ हजार २ सय ९७ |
क्षेत्रफल | १६७.१७ वर्ग किमी |
वडा संख्या | २४ |
कसले जित्ला मलंगवामा ?
- अमन कोइराला
स्था.नीय तहको निर्वाचनमा सदरमुकाम रहेको नगरपालिका मलंगवाको मेयर हुन राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा सुरु भएको छ । सदरमुकाममा चुनाव जित्नु अर्थपूर्ण हुने भएकाले सबै दलले यहाँ विशेष ध्यान दिएका छन् । लामो मधेस आन्दोलनको केन्द्र बनेको मलंगवामा संघीय समाजवादी फोरमले भने उम्मेदवारी दिएको छैन । मलंगवामा पहिले दुई पटक मेयर भैसकेका नागेन्द्र प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । फोरमले उनैलाई सघाउने संभावना छ । दुईपटक जितेकाले यादवलाई बलियो उम्मेदवार मानिन्छ । यसपटक मलंगवामा क्षेत्रफल थपिएकाले पुरानै अवस्था भने छैन ।
मलंगवामा राष्ट्रिय जनता पार्टीका नागेश्वर राय यादव, कांग्रेसका निरसल साह, एमालेका देवेन्द्र यादव तथा माओवादी केन्द्रका मोहम्मद समसुल हकले मेयरमा उम्मेदवारी दिएका छन् । आन्दोलनका क्रममा मधेसी जनताको समर्थन लिन सफल मधेसवादी ६ दल मिलेर गठन भएको राजपा चुनावमा बलियो हुनु स्वभाविक हो ।
यहाँ स्वतन्त्रका यादव, राजपा र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन धेरैको छ । जातीय भोटले पनि चुनावमा महत्व राख्छ । एउटै जातका धेरै उम्मेदवार हुँदा भोट काटिने सम्भावनाका कारण कांग्रेसका साह र माओवादी केन्द्रका हकको भोट एकलौटी हुने सम्भावनालाई नकार्न सकिँदैन ।
यादव जातिका उम्मेदवार धेरै भएकाले भोट काटिएर तेस्रो उम्मेदवारलाई फाइदा हुने आँकलन अगुवा मतदाताहरूको छ ।
मधेसमा जातिय जनसंख्या र आर्थिक चलखेलले चुनावी परिणाममा प्रभाव पारेको देखिँदै आएको छ । लामो अन्तरालपछि स्थानीय चुनाव हुन लागेकाले मतदाता भने सके सम्म इमानदार र विकास गर्न सक्नेलाई मत दिने पक्षमा छन् ।
सामान्य वर्षा हुनेबित्तिकै मलंगवा डुबानमा पर्छ । यहाँ नालाको उचित व्यवस्था छैन । धुलोले ढाकिएर जहिले पनि फोहोर देखिने नगरको मुहार परिवर्तन गर्ने मेयरको खाँचो स्थानीय बासिन्दाहरूले महसुस गरेका छन् । नगरपालिका भएको २५ वर्ष नाघे पनि मलंगवामा पिच सडक देख्न पाइँदैन । अव्यवस्थित बसाबास तथा नगरपालिकामा आवश्यकताभन्दा बढी कर्मचारी यहाँको अर्काे समस्या हो ।
नालाको उचित व्यवस्था एवं पानीको निकास तथा पक्की सडक मलंगवावासीका प्रमुख दुई माग हुन् । भ्रष्टाचारले ग्रस्त नगरपालिका कार्यालयलाई सुशासन दिन सक्ने नेतृत्व छान्ने चुनौतीको घडीमा यहाँका मतदाताहरू छन् ।
राजपाका केन्द्रीय अध्यक्ष मण्डलका तीन जनाको गृहजिल्ला भएकाले मलंगवामा आउने परिणाम ती नेताको प्रतिष्ठासँग पनि जोडिएको छ । अध्यक्ष मण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो तथा महेन्द्र राय यादव सर्लाहीकै हुन् ।
अघिल्लो निर्वाचनमा यादव र महतोको निर्वाचन क्षेत्रमा मलंगवा पनि थियो । यादवले चुनाव जितेको र महतोको पनि राम्रो प्रभाव भएकाले मलंगवामा राजपाले विजय हासिल गर्ने अनुमान राजपा नेताहरूको छ । टिकट वितरणपछि जिल्लाभरि देखिएको असन्तुष्टिका कारण अन्य दलले फाइदा उठाउने ठाउँ पाएका छन् । राजपाभित्रको विवादको फाइदा कांग्रेस, एमाले तथा माओवादीलाई नै हुनेछ ।
मलंगवा नगरपालिका
जनसंख्या | ४६ हजार ५ सय १६ |
मतदाता | २१ हजार ४ सय ११ |
क्षेत्रफल | १३.७ वर्ग किलोमिटर |
वडा संख्या | १२ |