साप्ताहिक संवाददाता
गत साता राजधानीको होटल अन्नपूर्णमा भोयाज अफ क्रिएसन, प्रतिस्पर्धात्मक फेसन शो सम्पन्न भएको छ । उक्त शोमा १२ जना महिला मोडल र ६ जना पुरुष मोडललाई सहभागि फेसन डिजाइनरहरुले आफ्नो सृजनालाई रनवे माथि प्रस्तुत गर्ने माध्यम बनाएका थिए । ३१ प्रतिस्पर्धी डिजाइनरका १६ कलेक्सनमा हरेकमा ६ वटा पहिरन र एउटा मास्टरपीस सहित ७ वटा सृजना मार्फत् सहभागि डिजाइनहरुले फेसन प्रतिस्पर्धामा आ आफ्नो सहभागिता जनाएका थिए ।
नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजना र श्रेष्ठ इभेन्ट्सको व्यवस्थापनमा संचालन भएको भोयाज अफ क्रिएसन नामक उक्त फेसन डिजाइनरहरुको प्रतिस्पर्धामा अन्तत: वसन्त बुढा, सन्ध्या माझी र मन्दिरा श्रेष्ठको सामूहिक कार्यले विजेताको रुपमा सफलता हात पार्यो । गार्बेज रिनोभेसन शीर्षकमा प्रस्तुत उनीहरुको कलेक्सन पून:प्रयोग सन्देशमा केन्द्रित थियो जसमा फ्लेक्स, सिडी चक्काहरु, अल्मुनियम फोयल, प्रयोग भइसकेका ब्यागहरु, टेप तथा प्लास्टिकलाई पहिरनको स्वरुप प्रदान गरिएको थियो ।
प्रतियोगिताको फस्ट रनर अपका रुपमा प्रमिन शाक्य, दुश्यन्त रुम्दली राई र करिश्मा लामाको समूहले तयार पारेको पहिरनहरुले सफलता प्राप्त गर्यो । उनीहरुको सृजना भने पेपीरस शीर्षक अन्तर्गत थियो । जसमा पहिरन सबै स्वरुपहरु कागजको प्रयोगबाट तयार पारिएको थियो ।
कागज पून:प्रयोग तथा कागजको सुन्दरता उपयोगितालाई यो कलेक्सनले देखाएको थियो । ओम्नीजम शीर्षकमा प्रस्तुत लक्ष्मी थापा मगर र अमृता थापा मगरको जोडीले प्रतिस्पर्धामा सेकेन्ड रनर अपको स्थान प्राप्त गर्यो । उनीहरुको सृजना सबै धर्म प्रति सम्मानमा केन्द्रित थियो जसमा बहुधार्मिक प्रतिकहरुलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको थियो ।
उक्त फेसन प्रतिस्पर्धामा पूर्व मिस नेपाल सुगरिका के.सी., अभिनेत्रीहरु वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, नम्रता श्रेष्ठ, जेबिका कार्की र मोडल पूजा श्रेष्ठले जर्दोजी बुटिक अमितेष कर्ण र इन्दु आछाजुले तयार पारेको पार्टी र फेस्टिभ मूडमा आधारित विविध शैलीका लहेंगाहरुको प्रस्तुति विशेष आकर्षण रुपमा रह्यो ।
सो फेसन डिजाइनरहरुको प्रतिस्पर्धामा गाउनका विविध आकर्षक शैलीहरु मुख्य पहिरनका रुपमा प्रस्तुत भएता पनि वन् पिस, लेहेंगा, स्कर्ट, पाइन्ट, शर्ट आदिका विविध रुप र स्वरुपहरु पनि अवलोकन गर्न पाइयो । फेसन डिजाइनहरुको परिकल्पनाहरु पार्टी, रोमान्स, रेड कार्पेट, प्रकृति, धर्म, संस्कृति, अग्नी, वसन्त ऋतु आदिबाट प्रेरित थिए ।