साप्ताहिक संवाददाता
पल्सर स्पोर्टस एवार्ड–२०७३ मा जत्तिको खुल्ला प्रतिस्पर्धा यसअघि कहिल्यै भएको थिएन । एवार्डका जति पनि विधा थिए, ती सबैमा जो–कोही विजयी हुन सक्थे । जसले जित्न सकेनन्, उनीहरूको उपलब्धि पनि कम थिएन । यस्तोमा यसपटकको एवार्ड जसले जिते, उनीहरू भाग्यमानी ठहरिए । वर्ष २०७३ को नेपाली खेलकुद वर्षको खास कथा यही थियो र एवार्ड आफैं पनि त्यसको प्रभावबाट मुक्त रहेन । छोटकरीमा भन्नुपर्दा एवार्डमा बाजी मार्ने काम एथलेटिक्सले नै गर्यो ।
नेपाली एथलेटिक्सले यसपटक दुई प्रमुख उत्कृष्ट प्रशिक्षक तथा पिपुल्स च्वाइसतर्फको एवार्ड जित्यो । पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षक घोषित भए भने कान्छीमाया कोजुले पिपुल्स च्वाइस एवार्ड प्राप्त गरिन् । नेपाली खेलकुदको एउटा खुल्ला सत्य हो, एथलेटिक्समा दुई प्रशिक्षकबीच होडबाजी चल्छ । एक हुन्, यिनै पुष्पराज, अर्का सुशीलनरसिंह राणा । उनीहरू एकअर्काका विरोधीका रूपमा चिनिन्छन्, उनीहरूबीचको सम्बन्ध चिसो रहेको समेत बताइन्छ ।
उनीहरूबीचको यही सम्बन्धले एथलेटिक्सलाई फाइदा पनि भएको छ, दुवै प्रशिक्षक आफ्ना खेलाडीलाई बढीभन्दा बढी सफलता दिलाउन चाहन्छन् । पुष्पराजको प्रशिक्षणमा आर्मीले राष्ट्रिय खेलकुदमा २२ स्वर्ण, १६ रजत तथा ८ कांस्य जितेको थियो । यस्तै ओलम्पिकमा सहभागी सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक पनि पुष्पराज नै हुन् । सरस्वतीले त ओलम्पिकमा २६ वर्ष पुरानो कीर्तिमान समेत भंग गरेकी थिइन् । यही उपलब्धिले पुष्पराजलाई उत्कृष्ट प्रशिक्षक बनाएको हो ।
एवार्ड प्राप्त गरेपछि ओझाको प्रतिक्रिया पनि उत्तिकै सटिक थियो– काम गर्दै जाने हो, कुनै न कुनै दिन यस्तो सम्मान पाइन्छ नै । कान्छीमायाले एसएमएस भोटिङ र फेसबुक लाइकमा सबैलाई पछाडि पारिन् । समग्रमा कान्छीले ६४ हजार भन्दा बढी मत ल्याइन् । उनलाई यो सफलता दिलाउन उनको गृह जिल्ला भक्तपुर कम्मर कसेर लागेको थियो ।
वर्ष २०७३ मा जति पनि हाफ म्याराथन र म्याराथन भए, ती सबैमा कान्छीमाया नै विजयी भएकी थिइन् । त्यसैले पनि उनका लागि यो एवार्ड त्यही मेहनतको कदर सावित भयो । कार्यक्रमको सर्वाधिक प्रतिष्ठित पुरुष र महिला वर्ष खेलाडीको एवार्ड भने क्रमश: किरण लिम्बू र नङसला तामाङको नाममा रह्यो । गोलरक्षक किरण नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् भने नङसला लामो समयदेखि नेपाली ब्याडमिन्टनकी नम्बर १ खेलाडी ।
नेपाली खेलकुदमा एक खालको विवाद अझै कायमै छ, नेपालले जितेको सोलिडारिटी कपलाई कति महत्त्व दिने ? यो खासै प्रतिष्ठित प्रतियोगिता हो कि होइन ? नेपाललाई सोलिडारिटी कपको फाइनलसम्म पुर्याउन किरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सेमिफाइनलमा लाओसविरुद्ध टाइब्रेकरमा प्राप्त जितमा नेपालका लागि किरणले तीनवटा पेनाल्टी बचाएका थिए । किरणले यो एवार्ड जितेपछि तय भएको छ, अब सोलिडारिटी कपलाई लिएर प्रश्न नगरे हुन्छ । आखिर यो त्यही प्रतियोगिता हो, जसले नेपाललाई एसिया कप छनौटको तेस्रो चरणसम्म पुर्यायो । नङसलले भने आफ्ना भाइ रत्नजितसँग मिलेर पाकिस्तानमा भएको इन्टरनेसल सिरिजको मिक्स डबल्समा पहिलो स्थान हात पारेकी थिइन् । नेपाली ब्याडमिन्टनले अन्तर्राष्ट्रिय मञ्चमा जितेको यो नै पहिलो स्वर्ण थियो । यही उपलब्धि नङसललाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित गर्न पर्याप्त रह्यो । एवार्ड पाएपछि नङसलले आफ्नो खुसी लुकाउन सकिनन् र भनिन्– म वास्तवमै निकै खुसी छु । गल्फका पहिलो नेपाली व्यवसायिक खेलाडी घनश्याम थापालाई लाइफटाइम एवार्ड प्रदान गरियो । थापा यो विधामा पुरस्कृत हुने पहिलो गल्फ खेलाडी हुन् । उनी सन् १९६८ मै प्रो भएका थिए । नेपाली गल्फमा व्यवसायिकता ल्याउने श्रेय पनि उनैलाई दिइन्छ । स्पेसल एवार्ड भने बन्दी सहायता नियोग (पाम) लाई प्रदान गरियो । पामले आमाबुबा जेलमा परेका बालबालिकालाई जुडो सिकाउँछ । युवा खेलाडीमा एवार्ड विजेता मनिता श्रेष्ठ प्रधान पामकै उत्पादन हुन् ।
पदम बडेलाले भारतमा भएको दृष्टिविहीन ट्वान्टी–२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध दोहोरो शतक बनाएका थिए । उनको उक्त प्रदर्शन धेरै अर्थमा ऐतिहासिक र दुर्लभ थियो । वर्षको टिम रह्यो, नेपाली पुरुष भलिबल टिम । पुरुष भलिबल टिमले माल्दिभ्समा भएको एभीसी एसियन सेन्टर जोन सिनियर भलिबलमा तेस्रो स्थान हात पारेको थियो । नेपाली भलिबलको इतिहासमा चार दशकयता पुरुष टिमले पाएको यो नै पहिलो अन्तर्राष्ट्रिय सफलता हो ।