साप्ताहिक संवाददाता
कलाकार टीका पहारी नाटमा फर्किएपछि साप्ताहिकको कुराकानी
लामो समयपछि नाटकमा फर्कंदाको अनुभव कस्तो रह्यो ?
असाध्यै सुखद । मैले सन् १९८१ भन्दा अघि भारतमा दर्जनौं नाटकमा अभिनय गरेको थिएँ । झन्डै ३७ वर्षपछि रंगमञ्चमा प्रस्तुत हुँदा आफूलाई लक्का जवान महसुस गरें ।
रंगमञ्चमा पुनरागमनका लागि नाटक लाटीको छोरो नै कसरी जुर्यो ?
भारतबाट स्वदेश फर्किएपछि म लामो समय गाउँ (नवलपरासी) मै बसें । काठमाडौंमा स्थायी बसोबास प्रारम्भ गरेपछि गुरुकुल, सर्वनाम, मण्डला थिएटरमा आउने–जाने क्रम जारी थियो । यसबीच चलचित्रमा व्यस्त हुन थालेपछि रंगमञ्चले नै मलाई सम्झिएको हो । ‘लाटीको छोरो’ मै अभिनय गर्नु चाहिं संयोग जस्तै भयो ।
यो नाटकमा कस्तो भूमिका छ ?
विभिन्न चरित्र निर्वाह गरेको छु । मेरो व्यक्तित्वलाई सुहाउने भूमिका दिइएको छ । मैले आफ्नो चरित्रलाई न्याय गरेको कुरा दर्शकहरूको प्रतिक्रियाबाटै प्रमाणित भएको छ ।
रिहर्लसलका क्रममा कस्तो अनुभव गर्नुभयो ?
यो नाटकका अधिकांश सदस्य ३० वर्ष अथवा त्यो भन्दा कम उमेरका छन् । युवापुस्तासँग काम गर्दाको अनुभव साँच्चिकै रमाइलो भयो । रिहर्लसलका क्रममा मैले आफू पनि ३०–३५ वर्षे ठिटो नै भएको अनुभव गरें ।
नाटक मञ्चनको पहिलो दिनको पहिलो दृश्य कस्तो थियो ?
कलाकारभन्दा दुई हात अघि बसेका दर्शक तथा प्रकाश संयोजनले पहिलो दिनको पहिलो दृश्यमा अभिनय गर्ने क्रममा केही अप्ठ्यारो सिर्जना भएकै हो । मैले अघि नै भनें, वर्षौंपछि त्यसरी दर्शकको अगाडि प्रत्यक्ष अभिनय गर्दा केही असहज त हुन्छ नै तर दोस्रो दृष्यदेखि नै मैले सहजता महसुस गरिसकेको थिएँ ।
चलचित्र र नाटकमध्ये कुन विधामा काम गर्न सहज ?
चलचित्रको अभिनय धेरै सजिलो हुन्छ । टेक, रिटेक, डबिङ सबै कुरा समय लिएर गरिने भएकाले चलचित्रमा सहज हुन्छ । नाटकमा दर्शकहरूको सामुन्ने प्रत्यक्ष अभिनय गर्नुपर्ने भएकाले हामी कलाकारले विशेष चनाखो हुनुपर्छ । प्रतिक्रिया पनि तुरुन्तै पाइने भएकाले नाटकमा अभिनय गर्दा धेरै कुरामा ध्यान पुर्याउनुपर्छ ।