सिन्धु मल्ल, गायिका
वर्षमा एकपटक भए पनि आफ्नो माइतीसँग मिलन गराउने भएकाले दसैंलाई महत्वका साथ हेर्ने गरेकी छिन् गायिका सिन्धु मल्लले । विवाहित छोरीका लागि मात्र नभएर कामले घरबाहिर गएका, बाध्यताबस विदेश पुगेका सबैको परिवारसँग मिलन गराउने पर्व दसैंका विभिन्न पक्षसँगै नारी शक्तिको पूजाआराधना पनि उनलाई विशेष लाग्छ । सानैदेखि आमाले भक्तिका साथ नौरथाको पूजा गरेको हेर्दै हुर्किएकी सिन्धु आफूले पनि परम्परालाई निरन्तरता दिनुपर्छ भन्ने मान्छिन् ।
पूजा गर्दा
सिन्धु मल्ल नवदुर्गाको पूजा गर्दा घरमा होस् अथवा शक्तिपीठमा सारीमै सजिन्छिन् । अलि टाढाको शक्तिपीठ जानु छ भने सजिलोका हिसाबले पनि रंगीचंगी कुर्ता–सुरुवाल लगाउने सिन्धुले बताइन् ।
घरमा बस्दा
दसैंको बिदामा घरमै बस्दा सिन्धु मल्ल हल्का रातो रंगको सुतीको साडी लगाउँछिन् । छोरीभन्दा पनि बुहारी भैसकेपछि आफन्त धेरै आउने भएकाले सांस्कारिक पहिरनमा बस्नुपर्ने सिन्धुको अनुभव छ ।
टीका थाप्न जाँदा
प्राय: सारी नै लगाउन रचाउने सिन्धु मल्ल साइतको टीका थाप्दा भने सकेसम्म रातो रंगको साडीमा सजिन्छिन् । साइतपछिको टीका लगाउन जाँदा भने रंगीचंगी कुर्ता–सुरुवाल पनि लगाउँछिन् ।
मेकअप
सिन्धु मल्ल आफ्नो पहिरनसँग म्याच गर्ने खालको मेकअप गर्ने बताउँछिन् । आफैं मेकअप गर्ने सिन्धु पहिरन अनुसार मेकअप गर्न सिपालु छिन्, तर दसैं विशेष मेकअप भने नगर्ने सिन्धुले बताइन् ।