हरेक पर्वको आफ्नो छुट्टै महत्व र विशेषता हुने गर्दछ । यो विशेष अवसरमा आफ्नो व्यक्तित्वलाई विशेष बनाउनका लागि महत्पूर्ण भूमिका खेल्ने पहिरनशैलीको फेसन पनि लोभलाग्दो हुने गर्दछ । यही मेसोमा नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ अध्ययनरत १३ औं ब्याचका विद्यार्थीहरु पूर्णिमा थापा, सोनी श्रेष्ठ, जेनिता योङहाङ, सलोरा घिमिरे, स्नेहलता आचार्य, अलिशा प्रधान र सुशान्त पुडाशैनीले परिकल्पना गरेका केही फेसन शैलीहरु प्रस्तुत गरिएको छ ।
पूर्णिमा थापाको सृजनामा क्लासिक र मोर्डन टच पाइन्छ । उनको पहिरन शैलीको माथिल्लो शैली शर्टको जस्तो कोलर भएको रातो रंगको रअ सिल्कमा तयार हुने ब्लाउज हो । यसमा नेक एरियामा इम्ब्रोइडरी डिटेल पाइन्छ भने ब्लाउजको बाहुला भने बेल स्लीभ शैली हो । यो शैलीमा ब्लाउजको जोडा भने फ्लोर लेन्थ हाइ वेस्टेड फ्लेयर्ड स्कर्ट जसमा इम्ब्रोइडरी इफेक्ट हुन्छ । सुहाउादो शल, हाई हील र हेभी झुम्का जोडाले यो पहिरनशैलीलाई पूर्णता प्रदान गर्दछ ।
सोनी श्रेष्ठको सृजना भने बीसौं दशकताकाको सेमी क्याजुयल वेयरबाट प्रभावित छ । यसमा स्टेप सहितको वन् शोल्डर अफ तथा क्वार्टर स्लीभ भएको सिल्क साटनको डार्क मरुन टप छ । यसमा ब्ल्याक, व्हाइट र ग्रे रंगको एब्स्ट्राक्ट प्रिन्टको उपस्थिति पाइन्छ । यसको जोडाका रुपमा मुनितिर फेन्सी लेसको हाइलाइट भएको व्हाइट कटन पलाजो पाइन्ट छ । यसमा फ्लोरल ह्यान्ड प्रिन्ट अर्काे आकर्षक पक्ष हो । लाइट मेकअप, कर्ली हेयर स्टाइल तथा सिल्भर रंगको स्यान्डलबाट यो लुकमा पूर्णता प्राप्त गर्न सकिन्छ ।
जेनिता योङहाङको कल्पना भने परंपरागत गुन्यु चोलो परिमार्जित स्वरुप टप एण्ड स्कर्टको जोडामा समेटिएको छ । नी लेन्थ ए शेप्ड स्कर्ट र फिटेड ब्लाउज टपको जोडामा फ्रोस्टेड शिमर फ्याब्रिक र कन्ट्रास्ट ग्लीटर्स यो शैलीको मुख्य हाइलाइट हो । नेचुरल मेकअप, क्लासिक चेरी रेड लिपकलर यो स्टाइलका लागि सुहाउँदो हुन्छ ।
यो पर्वको अवसरलाई सलोरा घिमिरे भने नेपाली इन्डो फ्युजन शैलीमा सजाउने धुनमा छिन् । उनको सृजनामा माथिल्लो बडीका लागि ढाका कपडामा चौबन्दी शैलीको ब्लाउजको आकार रहेको छ । यसमा फ्लाउन्स भएको पफी स्लीभ विशेषता हो । यो सितको जोडामा उनले साटन कपडामा काउल पाइन्ट तयार पारेकी छिन् । बलेरिना फ्ल्याट, गोल्डेन नोज रिङले यो लुकलाई पूर्णता प्रदान गर्छ ।
स्नेहलता आचार्यको सृजनामा घाँटीमा स्ट्रेप सहितको पहेंलो रंगको ब्रोकेड कपडामा तयार पारिएको हल्टर टप रहेको छ । यसको कम्मरमा पनि क्रस शैलीमा स्ट्ेरप राखिएको छ । यो टपको जोडाका रुपमा हेमलाइनमा फ्लेयर भएको टियर्ड स्कर्ट रहेको छ । यसलाई सफ्ट पिन्क प्लेन कटन ब्लेन्ड फ्याब्रिकमा तयार पारिएको छ । स्कर्टमा एम्बेलिस्ड भएको वेष्ट ब्यान्ड छ भने साइडमा ट्यासल्सको लेयरहरु रहेको छ ।
अलिसा प्रधानको सृजना भने आवर ग्लास र पियर बडी शेप भएकाहरुका लागि सोचिएको छ । कट् अवे डिजाइन भएको वन् पिस शैलीको यो पहिरन मुख्यत: टिनएजरमा लक्षित रहेको छ । पहिरनको माथिल्लो अंश टप हो भने मुनिको अंश सर्कुलर छ जसमा पछाडिको भाग लामो र अगाडिको भाग छोटो छ । यो स्लीलेस शैलीमा ट्रम्पेट स्लीभलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । टपका लागि भेल्भेट र स्कर्टका लागि रअ सिल्क सुझाव दिइएको छ । टप कालो रंग र स्कर्ट पहेंलो रंगमा जोडा मिलाइएको छ ।
सुशान्त पुडासैनीको कल्पना भने फैन्सी ब्लाउज र लङ सर्कुलर स्कर्टको जोडामा केन्द्रित छ । ब्लाउजका लागि पिन्क तथा स्कर्टका लागि ग्रीन कलर चयन गरिएको छ । ग्लीटरी बोर्डर भएको ब्लाउज हल्टर शैलीमा छ । यसलाई आकर्षक स्वरुप दिन चेस्ट एरिया क्रश डिजाइनमा केही स्ट्रीङ राखिएको छ भने वेष्ट लाइनमा ट्यासल्सको प्रयोग भएको छ । फ्लोर लेन्थ सर्कुलर स्कर्टमा भने पातको प्रिन्टहरुको सुन्दर संयोजन रहेको छ । न्युड मेकप, लेयर्ड हेयर स्टाइल, चंकी हेड ज्वेलरी, प्लाटिनियम ब्रासलेट र स्टेलिटोअ् जुक्ताले यो शैलीलाई पूर्णता प्रदान गर्दछ ।