साप्ताहिक संवाददाता
त्रिपुरासुन्दरी
डोल्पाको त्रिपुरासुन्दरी भगवतीमा दसैंमा विशेष भीडभाड हुन्छ । पञ्चबलिका लागि प्रख्यात यो मन्दिरमा चैते दसैं तथा बडादसैंमा भव्य मेला लाग्छ । पुराणमा वर्णित त्रिपुरा विध्वन्सपछि मारिएका दैत्यको नाममा यो मन्दिरको नाम राखिएको जनविश्वास छ । डोल्पाको सदरमुकाम दुनैबाट १६ कोस पूर्वमा अवस्थित यो मन्दिर पैदल हिँडेर पाँच घण्टामा पुग्न सकिन्छ ।
बाग्लुङ कालिका
बाग्लुङ कालिका देवीको मन्दिर चाडबाडका बेला विशेष भीडभाड हुने मन्दिर हो । पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालिन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोका रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति मन्दिरमा राखिएपछि यो मन्दिरले चर्चा पाउन थालेको बताइन्छ । यो मन्दिर सदरमुकाम बाग्लुङ बजारबाट पूर्व कालिगण्डकी र कोठेखोलाको संगममा रहेको हात्तीसुँडे जंगलमा छ । दसैंको कालरात्री र नवमीका दिन यहाँ राँगा, कुखुरा, सुगुर तथा परेवाको बलि दिइन्छ ।
उपत्यका भित्रका केहि मन्दिर
बालकुमारी
ललितपुरका नेवारहरूले विशेष रुपमा मान्ने देवी हुन्— बालकुमारी । यहाँ घोडेजात्राको भोलिपल्ट एक्लो घोडा कुदाउने जात्रा पनि सञ्चालन गरिन्छ । बडादसैंका बेला यहाँ भक्तजनको भीड ठूलो लाग्छ ।
बगलामुखी
पाटन दरबारबाट उत्तरमा अवस्थित बगलामुखी मन्दिरमा नवरात्रका दिन विशेष पूजा आराधना गरिन्छ । बिहीबारका दिन विशेष भीडभाड हुने यो मन्दिरलाई ठूलो शक्तिपीठका रूपमा लिइन्छ । तन्त्रशास्त्रका दस महाविद्यामध्ये बगलामुखी पनि एक हुन् भन्ने विश्वास गरिन्छ ।
विजेश्वरी
काठमाडौंको विष्णुमतीको पूर्वी किनारमा रहेको विजेश्वरी भगवतीको मन्दिर गुणकामदेवले निर्माण गराएका हुन् । यहाँ खटयात्रासमेत गर्ने चलन छ । यो मन्दिरमा बडादसंैका विशेष भीडभाड हुन्छ ।
ब्रह्मायणी
भक्तपुर च्यामासिहंस्थित ब्रह्मायाणी मन्दिरमा दसैंमा विशेष पूजा गरिन्छ । मन्दिरमा जमरा, हाँसको अन्डा, हाँस, बोका साथै कुखुराको बलि दिने चलन छ । नवमीको दिन यहाँ राँगोलाई मताएर बध गरेपछि जात्रा निकालिन्छ । जात्राका दिन भक्तजनहरू घिस्रिंदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप बालेर मन्दिरसम्म जाने चलन छ ।