अशिष्मा नकर्मी, अभिनेत्री
अभिनेत्री अशिष्मा नकर्मीलाई पिङ, टीका, जमरा र अशीर्वादका कारण दसैं सधैं विशेष लाग्छ । दसैंमा मान्यजनले दिएको आशीर्वादमा विश्वास गर्ने नकर्मी आफ्नो घरेलु परम्पराअनुसार नबोलाएसम्म मान्यजनकहाँ टीका लगाउन जान्नन् । दसैंका अवसरमा दुर्गा पूजा नहुने उनको परिवारमा नौरथाको अन्तिम दिन भने मालश्री धुन, तबला, गिटार आदि बजाएर दुर्गा विसर्जन गर्ने परम्परा छ ।
दुर्गा पूजा
विशेष रूपमा दुर्गा पूजा गर्ने पारिवारिक परम्परा नभएका कारण घरमा विशेष पूजा नहुने र फेसनको कुरा पनि नउठ्ने अशिष्मा बताउँछिन् । नकर्मी पछिल्ला वर्षहरूमा भने पूजाका लागि आफ्ना दिदीबहिनीहरूसँग विभिन्न शक्तिपीठ पुग्न थालेकी छिन् । त्यस्तो बेला अशिष्मा प्राय: कुर्ता–सुरुवालमा हुन्छिन् ।
टीका
दसैंका लागि नयाँ पहिरन किन्ने मोहले अशिष्मालाई कहिल्यै छोएन । मान्यजनकहाँ टीका थाप्न जाँदा अशिष्मा कुर्ता–सुरुवाल नै लगाउँछिन् । कुर्ता–सुरुवाल लगाउन हल्का हुनुका साथै बस्न पनि सजिलो हुने भएकाले दसैंमा टीका थाप्न जाँदा प्राय: कुर्ता–सुरुवाल नै लगाउने अशिष्मा बताउँछिन् ।
मेकअप
आशिष्मा मेकअप गर्दा चुरा, टीका र गाजल कहिल्यै छुटाउँदिनन् । उनी प्राय: आफैं मेकअप गर्छिन् । मेकअपका क्रममा अशिष्मा म्याकको फाउन्डेसनमा हल्का पाउडर लगाउँछिन् ।