साप्ताहिक संवाददाता
उपत्यका भित्रका शक्तिपिठ
नक्साल भगवती
यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ ।
गुह्येश्वरी
पशुपतिनाथ मन्दिरनजिकैको गुहेश्वरी बागमती नदीको दक्षिणी किनारमा छ । सतीदेवीको गुह्य पतन भएको ठाउँमा उत्पत्ति भएकी देवी भएकाले यहाँ कुनै मूर्ति छैन । मन्दिरभित्र एउटा सानो प्वाल मात्र छ र त्यहाँ कलश राखिएको छ । यहाँ दसैंको घटस्थापना देखि नै विशेष पूजा हुन्छ ।
मैतीदेवी
काठमाडौंको ज्ञानेश्वरबाट मैतीदेवी चोकतिर आउँदा देब्रेतिर पर्ने मैतीदेवी मन्दिरमा चाडवाडका बेला विशेष भीड लाग्छ । त्यहाँ अंशु वर्माको समयदेखिका मूर्ति तथा शिलालेखहरू पाइन्छन् । यो मन्दिरमा तान्त्रिक विधिबाट पूजाआजा हुन्छ भने मैतीलाई साक्षात् देवी मानिन्छ ।
उपत्यका बाहिर
गहवामाई
पर्सा जिल्लाको वीरगन्जस्थित गहवामाई दसैंका लागि प्रख्यात धार्मिक स्थल हो । गहवामाई मन्दिरमा बलि चढाउँदा मनोकामना पूरा हुने जनविश्वास छ । पशुबलि नचढाउनेहरू जमराकोठामा घिरौला, कुभिन्डो, मुला आदि बलि दिई दुर्गाभवानीलाई दही, चिउरा, खीर, मिठाई, फलफूल तथा नरिवल चढाउँछन् । प्रत्येक वर्ष बडादसंैको सप्तमीदेखि महानवमीसम्म ठूलो मेला लाग्ने गहवामाईमा विभिन्न कामना र भाकल गरिएका बोका, कुखुरा, हाँस तथा परेवालगायतका पशुपन्छीको बलि चढाइन्छ ।
उग्रतारा
सुदूरपश्चिमका नौ भगवतीमध्ये उग्रताराको दर्शनका लागि पनि हजारौं भक्त पुग्छन् । डडेल्धुराको अमरगढी नगरपालिकाबाट ४ किलोमीटर पश्चिमपट्टी अवस्थित छ उग्रतारा देवीको मन्दिर । यो मन्दिरमा प्रत्येक वर्षको महाअष्टमीका दिन भव्य मेला लाग्छ । किंवदन्तीअनुसार २ हजार ५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका वडा नं. ८ लटाउलीका एक स्थानीय किसानले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि उग्रतारा देवी उत्पन्न भएकी हुन् । यहाँ बलि पनि दिइन्छ ।
मौलाकालिका
नवलपरासी गैंडाकोटको मौलाकालिका मन्दिरको प्रवेशद्वारसम्मै सवारी साधन पुग्छ । त्यहाँबाट १ हजार ८ सय ९२ वटा सिंढी चढेपछि भगवतीको मन्दिर पुगिन्छ । उकालो सिंढी पार गर्न करिब ४० मिनेट लाग्छ । यहाँ एउटा पोखरीको बीचमा गाडिएको काठको खम्बा र सामुन्ने कालीको मन्दिर छ । मन्दिरभित्र रहेको कालीको मूर्तिलाई छुन भने पाइँदैन ।
गोरखकाली
बडादसैंमा विशेष महत्वका साथ पूजा–आराधना गरिने गोरखाको गोरखकाली मन्दिरको आफ्नै विशेषता छ । गोरखा दरबारस्थित यो मन्दिर दसैंघरमा घटस्थापनाको दिन बिहान सबेरै दुर्गा भगवतीको प्रतिमालाई दियो, कलश तथा नगराबाजा कैलाश कोठाबाट पूजा कोठामा स्थानान्तरण गर्ने चलन छ । सोही अवसरमा हर्षबडाइ गरी दसैं प्रारम्भ भएको घोषणा समेत गरिन्छ ।