पवित्रा आचार्य, कलाकार तथा कोरियोग्राफर
पवित्रा आचार्य दसैंबाहेकका दिनमा पनि भक्तिभावपूर्वक पूजा–आराधना गर्छिन् । दैवीशक्ति पनि केही हो भन्ने कुरामा विश्वास गर्ने पवित्रा बारअनुसार विभिन्न मन्दिरहरु पुगिरहेकी हुन्छिन् । नौरथामा नवदुर्गा भवानीको सभक्ति पूजा–अर्चना गर्ने पवित्रा दसैंमा परम्परागत पहिरनमा ठाँटिन रुचाउँछिन् ।
पूजा गर्दा
पवित्रा आचार्य घरमा नवदुर्गाको पूजा–आराधना गर्दा साधारण कुर्ता–सुरुवाल लगाउँछिन् । विभिन्न शक्तिपीठ जाँदा स्थान तथा दिन हेरेर पहिरन लगाउने आचार्य पानी परेका बेला हल्का खालको कुर्ता–सुरुवालमा ठाटिन्छिन् भने मौसम सफा छ भने साडी चोलो नै लगाउँछिन् ।
घरमा बस्दा
पवित्रा आचार्य घरमा बस्दा पहिरनमा खासै ध्यान दिन्नन् । दसैंका बेला घरमा के लगाएर बस्ने भन्दा पनि आफन्तकहाँ जान कसरी समय व्यवस्थापन गर्ने भन्ने चिन्तामा हुन्छिन् उनी । त्यसैले अहिलेसम्म घरमा के लगाएर बस्ने भन्ने कुरा सोच्न नपाएको पवित्राले बताइन् ।
टीका थाप्न जाँदा
टीका थाप्न जाँदा परम्परागत पहिरनमा हिँड्न रुचाउने पवित्रा भिन्न–भिन्न ठाउँमा जाँदा सधंै साडी लगाउन सम्भव नहुने तर्क गर्छिन् । घरबाट धेरै दूरीको स्थानमा जाँदा मन भए पनि हिँड्न अप्ठ्यारो हुनाले कुर्ता–सुरुवाल लगाउने पवित्राले मान्यजनकहाँ जाँदा भने सकेसम्म परम्परागत पहिरनमै पुग्ने जानकारी दिइन् ।
मेकअप
पवित्रा फेसनअनुसार मेकअप गर्न रुचाउँछिन् । प्राय: ब्युटिसियन सिर्जना कार्कीसँग मेकअप गराउने पवित्रा दसैंमा भने आफैं मेकअप गर्छिन् । दसैंमा प्राय: गाउँमा हुने र धेरै मेकअप गर्नु नपर्ने भएकाले हल्का फाउन्डेसनमा मखमलको टीका, गाजल तथा लिपिस्टिक लगाए पुग्छ ।