साप्ताहिक संवाददाता
स्वस्तिमा खड्का, अभिनेत्री
दसैंका अवसरमा स्वस्तिमा खड्काले आफूले बनाउने कुखुराको मासुको लेदो पकाउने विधि यसरी बताइन् :
सामग्री
कुखुराको मासु – १ किलो, तेल – ३ चम्चा, प्याज – २ वटा, गोलभेंडा – २ वटा, हरियो खुर्सानी – एउटा, चिकेन मसला – थोरै, जिराको धुलो – दुई चम्चा, लसुनको पेस्ट – तीन चम्चा, अदुवाको पेस्ट – २ चम्चा, हरियो धनियाँ – अलिकति, नुन – स्वादअनुसार
विधि
- कराहीमा तेल तताएर प्याजलाई खैरो हुन्जेल भुट्ने ।
- पखालेर राखिएको कुखुराको मासुलाई उक्त प्याजसँगै फेरि मज्जाले भुट्ने ।
- चार मिनेटजति पकाएपछि हरियो खुर्सानी, अदुवा, लसुन तथा जिराको धूलो हाल्ने ।
- सानो आँचमा छोप्दै–चलाउँदै केही बेर पकाउने ।
- मासुबाट निस्किएको पानी कम हुँदै गएपछि त्यसमा गोलभेडा हाल्ने र एकैछिन छोप्ने ।
- पाकेपछि हरियो धनियाँ छर्केर पस्किने ।
- यसरी तयार पारिएको लेदोसँग रोटी, चिउरा वा भात खान सकिन्छ ।