साप्ताहिक संवाददाता
निर्देशक : दीपाश्री निरौला
संगीत : किरण कँडेल/अल्मोडा राना उप्रेती
कलाकार : दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, जयनेन्द्र लामा, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेल आदि ।
अभिनेत्री दीपाश्री निरौलाले गत वर्ष छक्का पञ्जाको निर्देशन गरेर आफूलाई नेपाली दर्शकको रोजाइको निर्देशकमा परिसकेकी छिन् । दीपाले निर्देशन गरेको छक्कापञ्जाको सिक्वेल छक्कापञ्जा दुई पनि प्रदर्शन अगावै दर्शकहरूको प्रतिक्षित चलचित्र साबित भैसकेको छ । बडादसैंको अवसर पारेर फूलपातीको दिन आजबाट देशभर एकसाथ प्रदर्शन हुन लागेको चलचित्र छक्कापञ्जा दुईका गीत विवादमा आएपछि यसले थप चर्चा पायो ।
त्यसमाथि छक्कापञ्जाले बनाएको व्यवसायिक कीर्तिमान र डेढ दर्जनभन्दा बढी चर्चित कलाकारको भीडका कारण पनि दर्शकहरू छक्कापञ्जा दुईको प्रदर्शनको पर्खाइमा छन् । छक्कापञ्जाको कथा जहाँ सकिन्छ, लगभग त्यहीबाट छक्कापञ्जा दुईको कथा सुरु हुन्छ अनि कलाकारहरूले हसाउँदै र रमाइलो गराउँदै अब के होला भन्ने कौतुहलताबीच चलचित्र अघि बढ्ने निर्देशक निरौलाको दाबी छ ।