साप्ताहिक संवाददाता
बज्रवाराही
चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेलबाट सहजै गाडी पाउन सकिन्छ । प्राकृतिक रूपले सुन्दर साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्व छ । दसैंमा यहाँ बोकाको बलि दिने प्रचलन छ । कार्तिक शुक्ल अष्टमी, नवमी तथा दशमीका दिन यहाँ विशेष जात्रा देखाइन्छ ।
कालिन्चोक
कालिन्चोक भगवती दोलखाको सदरमुकाम चरिकोटबाट करिब १५ किलोमिटर उत्तरमा पर्छ । त्यहाँसम्म हिजोआज कच्ची बाटोमार्फत ट्याक्सीमा समेत पुग्न सकिन्छ । यो मन्दिरको दर्शन गरे चिताएको पुरा हुने, रोगव्याधि नलाग्ने, शत्रुको भय नहुने तथा धन–सम्पत्ति वृद्धि हुने जनविश्वास छ ।
चण्डेश्वरी
चण्डेश्वरी मन्दिर काभ्रेको बनेपामा पर्छ । नेवार समुदायले चण्डेश्वरीलाई कुलदेवी वा इष्टदेवीका रूपमा पुज्दै आएको छ । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरूले चण्डेश्वरी भन्छन् भने बुद्धमार्गीहरूले पनि चण्डेश्वरीलाई विशेष रूपमा मानेको पाइन्छ । दसैंका बेला यहाँ हजारौं भक्तजन दर्शनका लागि पुग्छन् ।