साप्ताहिक संवाददाता
हलेसी
पूर्वको पशुपतिनाथका रूपमा चिनिने खोटाङको महादेव स्थान गाविसमा पर्ने हलेसी गुफाको प्रसिद्धि नेपालमा मात्र नभई भारत, बंगलादेश र भुटानमा समेत छ । खोटाङको सदरमुकाम दिक्तेलबाट तीन घण्टाको पैदल यात्रापछि हलेसी गुफा पुग्न सकिन्छ । बर्षा नभएको समयमा स्थानीय सवारी साधनहरू पनि उपलब्ध हुन्छन् । यहाँको महादेव गुफा आकर्षक मानिन्छ । काठमाडौंबाट हलेसी महादेव पुग्न २ सय ३० किलोमिटरको यात्रा तय गर्नुपर्छ ।
भीमेश्वर
दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किराँतकालमा नै स्थापना भएको यो मन्दिरमा देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतका रूपमा पसिना आउने जनविश्वास छ । मन्दिरमा नित्य पूजाबाहेक भीमा एकादशी, बालाचर्तुदशी, चैतेदसैं तथा बडादसैंमा मेला लाग्छ । काठमाडौंको पुरानो बसपार्कबाट १ सय ३३ किलोमिटरको यात्रा तय गरेपछि चरिकोटबाट मन्दिर पुग्न चार किलोमिटरको यात्रा तय गर्नुपर्छ ।
बज्रयोगिनी
नेपालको प्राचीन सहर साँखुस्थित बज्रयोगिनी मन्दिरको विशेष महत्व छ । काठमाडौंको पुरानो बसपार्कबाट १८ किलोमिटर टाढा अवस्थित यो मन्दिरमा विशेष गरी माघ महिनामा श्रीस्वस्थानी व्रतकथा मेला लाग्छ । बज्रयोगिनी देवीलाई बौद्ध परम्पराअनुसार बुद्धशक्ति ताराका रूपमा पुजिन्छ । यसैकारण बज्रयोगिनी देवीलाई उग्रतारा पनि भनिन्छ । चैतमा बज्रयोगिनी जात्राकै आयोजना गरिन्छ । जात्राका बेला अन्डा, हाँस, बोका र राँगाको बलि दिने गरिन्छ । दसैंमा पनि यहाँ विशेष पूजाआजा सहित बलि दिने प्रचलन छ ।