साप्ताहिक संवाददाता
कार्यालयमा फोन उठाउने तथा राख्ने काममा मात्र सीमित रिसेप्सनिस्टको कामलाई अहिले फ्रन्ट डेस्क म्यानेजमेन्ट भन्न थालिएको छ । नामसँगै भूमिका पनि परिवर्तन भएपछि फ्रन्ट डेस्कले मार्केटिङ, ब्रान्डिङ तथा काउन्सिलिङको जिम्मेवारीसमेत लिनुपर्ने देखिएको छ । त्यसैले अहिले फ्रन्ट डेस्क म्यानेजमेन्टमा महिलासँगै पुरुषहरूको माग पनि बढ्न थालेको छ । फ्रन्ट डेस्क म्यानेजमेन्टमा आफ्नो योग्यता, सीप तथा क्षमता देखाउन सजिलो छ ।
फ्रन्ट डेस्कको जिम्मेवारी लिने कर्मचारी मेहनती, फुर्तिलो तथा स्मार्ट हुनुपर्छ । कामको प्रकृति एवं कार्यालयअनुसार फ्रन्ट डेस्कमा एकदेखि तीनजनासम्म कर्मचारी राख्ने चलन छ । फ्रन्ट डेस्कमा काम गर्ने व्यक्तिको जिम्मेवारी बढ्दै गएपछि उनीहरूको योग्यता पनि बढ्न थालेको छ । केही वर्ष पहिले एसएलसी उत्तीर्ण भए पुग्ने उक्त पदमा अहिले स्नातकोत्तर तह उत्तीर्ण सम्मको मापदण्ड निर्धारण गर्न थालिएको छ ।
फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारी भद्र, शालीन, हँसिलो स्वभाव तथा नेपाली–अंग्रेजी भाषामा दक्ष हुनुपर्छ । त्यस्तै, हस्पिटालिटी म्यानेजमेन्टमा दक्ष, कार्यालय र प्रोडक्टसम्बन्धी राम्रो जानकारी भएको, कुशल वक्ता तथा काउन्सिलिङ गर्न सक्ने व्यक्तिहरू फ्रन्ट डेस्कका लागि योग्य हुन थालेका छन् । व्यक्ति हेरेर व्यवहार गर्नुपर्ने र फ्रन्ट डेस्कको व्यवहारबाटै कार्यालयको प्रतिष्ठा कायम हुने भएकाले फ्रन्ट डेस्कमा उत्कृष्ट कर्मचारी राख्ने चाहना सबै कम्पनीमा हुन्छ । फ्रन्ट डेस्कले कार्यालयको इमेल राख्ने/पठाउने, कार्यालयभित्र एउटा विभाग वा कर्मचारीको सम्बन्ध अर्को विभाग वा कर्मचारीसँग जोड्ने लगायत कार्यालयमा आवश्यक सामग्रीको व्यवस्थापन गर्ने कामसम्म गर्नुपर्ने हुन्छ ।
फ्रन्ट डेस्कका लागि निश्चित विषयगत मापदण्ड तोकिएको पाइँदैन । जुनसुकै विषय पढेकाले पनि फ्रन्ट डेस्कमा काम गर्न सक्छन् । हस्पिटालिटी म्यानेजमेन्ट पढेका विद्यार्थीलाई यो जिम्मेवारी वहन गर्न केही सजिलो हुन्छ । साधारणतया राम्रो सम्पर्क राख्न एवं सञ्चार गर्न सक्ने स्मार्ट व्यक्तिले सजिलै यो क्षेत्रमा अवसर प्राप्त गर्छन् ।