साप्ताहिक संवाददाता
जागिरका लागि व्यक्तिगत विवरण (बायोडाटा) अनिवार्य हुन्छ । बायोडाटा बनाउनुअघि कस्तो कम्पनीले कस्तो बायोडाटा भएका कर्मचारी खोजेका छन् पहिल्याउन सक्नुपर्छ र सोही अनुसार बायोडाटा तयार गर्नुपर्छ । अस्पष्ट तथा महत्त्वपूर्ण जानकारीहरू क्रम मिलाएर नलेखिएको बायोडाटाले आफ्नो वास्तविक योग्यता नदेखाउन सक्छ । साजसज्जा, अक्षर तथा अक्षरको आकारले पनि आकर्षक बायोडाटा लेखनमा महत्त्वपूर्ण भूमिका खेल्छ । रोजगारीको पहिलो पाइलाका रूपमा रहेको बायोडाटा आकर्षक बनाइए रोजगारी प्राप्त गर्न सहज बनाउँछ ।
योग्यतामा केन्द्रित
बायोडाटामा व्यक्तिगत उद्देश्य तथा स्वभाव उल्लेख गर्नु हुँदैन । यसले रोजगारदातामा सकारात्मक प्रभाव छोड्न सक्दैन । रोजगारदाताले तब मात्र आफूलाई छनोट गर्न सक्छन्, जब आफ्नो योग्यता र कामको अनुभव उनीहरूका लागि उपयोगी हुन्छ । त्यसैले बायोडाटा योग्यतामा केन्द्रित हुनुपर्छ । आफूले के–कस्ता कामको अनुभव र उपलब्धि हासिल गरिएको छ भन्ने कुरा नै रोजगारदाताका लागि महत्त्वपूर्ण हुन्छ ।
थोरै बुँदामा सीमित
बायोडाटाको सबैभन्दा माथि शैक्षिक एवं व्यवसायिक योग्यता स्पष्ट र सरल भाषामा उल्लेख गर्नुपर्छ । यसलाई केही वाक्यांश वा थोरै बुँदामा सीमित गर्नु उपयुक्त हुन्छ । बायोडाटाले आफ्नो सबै योग्यता समेटेको हुनुपर्छ ।
उपलब्धिलाई केन्द्रमा राख्ने
बायोडाटामा आफूले गरेका कामको होइन, हासिल गरेका उपलब्धिको सूची समावेश गर्नुपर्छ । छनोटकर्ताका लागि आफूले हासिल गरेको उपलब्धिको जानकारी महत्त्वपूर्ण हुन्छ । त्यसले नै आफ्नो वास्तविक योग्यता एवं क्षमता झल्काउँछ ।
बढीमा दुई पृष्ठ
अनावश्यक वा झिनामसिना कुरा लेखिएको बायोडाटा पट्यारलाग्दो हुन्छ । सरल शब्द तथा छरिता वाक्य नै असल बायोडाटाको परिचय हो । यस्तो बायोडाटा दुई पृष्ठभन्दा लामो हुनु हुँदैन भन्ने सामान्य नियम छ । जानकारीलाई बुँदागत रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ, तर बुँदाहरूको सूची धेरै लामो हुनु हुँदैन । अनुच्छेदहरूमा भन्दा बुँदागत सूचीमा छनोटकर्ताको ध्यान केन्द्रित हुने कुरा मनन गरेर बायोडाटा तयार गर्नुपर्छ ।
मार्केटिङ डकुमेन्ट
आफूले हासिल गरेका सबै अनुभव वा योग्यता आवेदन गर्न लागेको कामसँग सम्बन्धित हुन्छन् भन्ने छैन । त्यसैले, आवेदन गर्न लागेको कामसँग सम्बन्धित जानकारीलाई आफ्नो बायोडाटाको प्राथमिकतामा राख्नुपर्छ भने अन्य महत्त्वपूर्ण जानकारी दोस्रो प्राथमिकतामा राखेर प्रस्तुत गर्नुपर्छ । सधैं के ख्याल राख्नुपर्छ भने बायोडाटा आफ्नो योग्यताको मार्केटिङ डकुमेन्ट हो ।