साप्ताहिक संवाददाता
एसियाली फुटबल महासंघका उमेर समूहका प्रतियोगितामा नेपालले राम्रो प्रदर्शनको अपेक्षा नराखे हुन्छ, काठमाडौंमै भएको एएफसी यू–१६ ले दिएको शिक्षा त्यही हो । दक्षिण एसियाली स्तरमा हुने प्रतियोगितामा भने प्रत्येक पटक नेपालको पहुँच दरिलो नै हुन्छ ।
भुटानमा भएको साफ यू–१८ फुटबल प्रतियोगिताले पनि यही प्रमाणित गरेको छ । प्रतियोगितामा नेपाल डिफेन्डिङ च्याम्पियनका रूपमा प्रस्तुत भएको थियो र अन्तत: यही टिमले उपाधि रक्षा पनि गर्यो ।
पूरा प्रतियोगिता हेर्ने हो भने नेपाली टिमको यात्रा त्यति सहज भने रहेन । नेपाल खराब सुरुवातको सिकार बन्यो र पहिलो खेलमा भुटानविरुद्ध बेहोरेको हार एक प्रकारले कलंकका रूपमा रहनेछ । यसअघि नेपाल कुनै पनि स्तरमा भुटानसँग पराजित भएको थिएन । नेपालले भुटानी टिमको सामना गर्दा ढुक्क भएर भन्न सक्थ्यो, यो नै एक मात्र यस्तो टिम हो, जसलाई हामी हराउन सक्छौं ।
इतिहासले समेत यस्तै भनिरहेको थियो, तर अब त्यो इतिहास पनि फेरिएको छ । राउन्ड रोबिनका आधारमा चलेको प्रतियोगितामा नेपाल पहिलो खेलमै भुटानसँग १–० ले पराजित भयो । भुटानको जित पेनाल्टी गोलमा सम्भव भएको थियो । प्रतियोगिताले दोस्रो दिनको खेल तय गर्दा भुटान र बंगलादेशको समान छ अंक भैसकेको थियो भने नेपाल शून्यको स्थितिमा थियो । यस्तोमा नेपालले उपाधि जित्ने कुरा सोच्न सक्ने स्थिति पनि थिएन ।
नेपाली खेलाडीले भुटानविरुद्धको हारलाई निकै गम्भीरतापूर्वक लिए । विश्व फुटबलमा अप्रत्याशित नतिजापछि दुईवटा बाटो खुल्छन् । पहिलो बाटो त्यसबाट शिक्षा लिएर अघि बढ्ने, अर्को निराशाबीच अझ खराब खेल्ने । नेपालले पहिलो बाटो रोज्यो र त्यसपछि प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सफल भयो । नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हरायो । लगत्तै बंगलादेशविरुद्ध २–१ को जित निकाल्न सफल भयो ।
उक्त खेलमा जित निकाल्न नसकेको भए नेपाल उपाधिको समीकरणबाट टाढिने थियो । उक्त खेलको अन्तिम समयसम्म पनि स्थिति १–१ को बराबरीमा थियो ।
त्यही बेला रोमन लिम्बूले ४० यार्डबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भयो र नेपालको भाग्य फेरियो । प्रतियोगिताको अन्तिम दिन दुई खेल भए— भुटानविरुद्ध बंगलादेश र नेपालविरुद्ध भारत र ती चारै टिमसामु उपाधि जित्ने अवसर थियो ।
दिनको पहिलो खेलमा बंगलादेशले भुटानलाई हरायो । यस्तोमा भुटानको सम्भावना समाप्त भयो । नेपालसामु भारतलाई हराएर उपाधि जित्ने अवसर थियो । नेपाली टिमले त्यही गरेको थियो ।
प्रतियोगिताकै अन्तिम तथा रोमाञ्चक खेलमा नेपाल भारतमाथि २–० को उत्कृष्ट जित निकाल्न सफल भयो र उपाधि आफ्नो नाममा लेखायो । त्यसमा दुवै गोल गर्ने दिनेश हेन्जन थिए र उनी नै प्रतियोगिताका उत्कृष्ट खेलाडी पनि चुनिए । टिमका कप्तान अर्पण कार्कीले काठमाडौं फर्किएपछि भने— यो जित नेपाली फुटबल प्रशंसकका लागि दसैंको उपहार भयो ।