आश्विन २२, २०७४
चलचित्र ‘अ जेन्टलम्यान’ को छायांकनलगत्तै अभिनेत्री ज्याकलिन फर्नान्डिज तथा अभिनेता सिद्धार्थ मल्होत्राबीच प्रेमसम्बन्ध भएको चर्चा चल्यो । त्यही बेला ज्याकलिनकै कारण सिद्धार्थ र आलिया भट्टको ब्रेकअपको खबर पनि बाहिरियो । लगत्तै ज्याकलिनले आलियालाई सामाजिक सञ्जालमा अनफलो गरेको विषयले समेत बजार ततायो ।
यद्यपि यी सबै प्रसंग झूटो भएको ज्याकलिनको दाबी छ । ज्याकलिनका अनुसार उनले आलियालाई इन्स्टाग्राममा कहिल्यै फलो गरेकी थिइनन्, त्यसैले अहिले अनफलो गर्ने कुरै भएन । आजका मितिसम्म उनीहरू दुवैले ट्विटरमा एक–अर्कालाई फलो गरि नै रहेका छन् ।
सञ्चारमाध्यममा आएका गसिपले निराश भएकी ज्याकलिनले अन्तत: आलियालाई फोन नै गरेर सिद्धार्थसँग साथीको मात्र सम्बन्ध रहेको बताएपछि यो प्रसंग बिस्तारै किनारा लाग्ने क्रममा छ ।