लाहुरे शब्दले कुनै समय गाउँबेसीलाई नै रोमाञ्चित तुल्याउँथ्यो । राम्रो कमाइ, सात समुद्रपारिको देश दर्शन, घरफर्की आउँदा एउटा भरिया, सानदार ब्याग भिरेर थ्रिपिस क्यासेट प्लेयर घन्काउँदै गाउँ आउने लाहुरे देखेर लाखौं युवाको मन लोभिन्थ्यो । सबैजसो युवा त्यसरी नै आफू पनि लाहुरे सान देखाउन लालायित हुन्थे तर सीमित युवाहरूले मात्र अवसर पाउँथे । विशेष गरी ब्रिटिस सेना र सिंगापुर प्रहरीमा भर्ती हुनु युवाहरूको सपना नै हुन्थ्यो ।
यस्तो सपना सजाउने युवाहरूको संख्या अझै पनि घटेको छैन । प्रत्येक वर्ष खुल्ने आवेदनमा अहिले पनि हजारौं युवाको ताँती लाग्छ । त्यता जान नपाउनेहरूको दोस्रो रोजाइमा भारतीय सेना हुँदै आएको छ । विगतका वर्ष झै आगामी वर्षका लागि पनि लाहुरे भर्तीको ढोका खुलिसकेको छ । अहिले हजारौं युवाले साढे ३ सयको कोटाभित्र पर्न दिनरात नभनी शारीरिक तथा मानसिक परिश्रम सुरु गरिसकेका छन् । देशभर रहेका करिब एक सयभन्दा बढी ट्रेनिङ सेन्टरमा प्रशिक्षणका लागि भीड लागिसकेको छ ।
केही वर्षअघिसम्म जनजाति युवाहरूको रोजाइमा पर्ने ब्रिटिस सेना तथा सिंगापुर प्रहरीमा अहिले अन्य समुदायका युवाहरूको समेत आकर्षण देखिएको नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनका सचिव योगेश राई बताउँछन् । सन् २००० सम्म ब्रिटिस सेना तथा सिंगापुर प्रहरी सेवामा अन्य समुदायलाई सीमित कोटा छुट्याएको थियो । अहिले सबैलाई खुला गरिए पनि समाजमा जनजाति युवाहरूका लागि मात्र हो भन्ने छाप परेको हुँदा ब्राह्मण तथा क्षेत्री समुदायका युवाहरूको आवेदन जनजाति युवाको तुलनामा कम पर्ने गरेको राई बताउँछन् । अझै पनि फारम भर्नेहरूको संख्यात्मक अनुपात भने जनजातिको तुलनामा अन्य समुदायको कम छ । राई भन्छन्– यद्यपि पहिलेभन्दा बढी सहभागी तथा उत्तीर्ण हुने गरेको पाइन्छ ।
आगामी वर्षका लागि ब्रिटिस आर्मी र सिंगापुर प्रहरी आवेदन खुलिसकेको छ । ब्रिटिस आर्मीका लागि २ सय ७० तथा सिंगापुर प्रहरीका लागि ८० जना नेपाली युवाले अवसर प्राप्त गर्नेछन् । जम्मा ३ सय ५० स्थानका लागि देशभरबाट ९ हजारभन्दा बढी युवाले आवेदन दिएको ब्रिटिस गोर्खा प्रि–ट्रेनिङ सेन्टरका सञ्चालकसमेत रहेका राई बताउँछन् ।
फारम भर्दाको बखत १७ वर्ष ६ महिना पूरा गरी २१ वर्ष ननाघेका, एसईईमा कम्तीमा सी ग्रेड प्राप्त गरेका युवाहरू ब्रिटिस आर्मी तथा सिंगापुर प्रहरीका लागि योग्य हुन्छन् । काठमाडौं, भक्तपुर तथा ललितपुरका रैथाने युवाहरूका लागि भने अझै बाटो नखुलिसकेको लामो समयदेखि कोटेश्वरमा प्रि–ट्रेनिङ गराउँदै आएका क्लासरुम प्रालिका सञ्चालक विनोद राई बताउँछन् । दुवै समूहमा आवेदन दिन १६ वर्ष ६ महिना कटेका तर २१ वर्ष ननाघेका नेपाली युवा योग्य हुन्छन् । राई भन्छन्– तर काठमाडौं उपत्यकाका रैथाने युवाहरू अझै यो अवसरबाट वञ्चित छन् ।’
नेपाल तथा ब्रिटिस सरकारबीच भएको सम्झौताअनुसार नेपाललाई दिइँदै आएको कोटा आवश्यकताअनुसार घटबढ हुँदै आएको छ । नेपालमा गणतन्त्र आएपछि केही वर्ष कोटामा कमी आए पनि अघिल्लो वर्षदेखि पुन: पुरानै अवस्था फर्कंदै गएको छ । ब्रिटिस आर्मीका लागि नेपाललाई प्राप्त कोटालाई दुई क्षेत्रमा विभाजन गरिएको छ ।
बाग्मती अञ्चलपूर्वको आधा भागलाई पूर्वी क्षेत्र र त्यस पश्चिमको क्षेत्रलाई पश्चिम क्षेत्रमा विभाजित गरी ५०/५० प्रतिशत कोटा छुट्याइएको छ । सोहीअनुसार यसपटक १ सय ३५ गोर्खा ब्रिटिस आर्मी र ४० सिंगापुर प्रहरी कोटा पूर्वी क्षेत्रलाई छुट्याइएको छ । बाँकी १ सय ३५ आर्मी तथा ४० सिंगापुर प्रहरी कोटा पश्चिम क्षेत्रका लागि छुट्याइएको छ । पूर्वको प्रारम्भिक छनौट सुनसरीको धरानमा र पश्चिमको प्रारम्भिक छनौट कास्कीको पोखरामा हुनेछ । प्रारम्भिक छनौटमा परेका सबैलाई अन्तिम परीक्षाका लागि पोखरा लगिन्छ । पोखरामा उत्तीर्ण भएका युवाहरू मात्र सिंगापुर प्रहरी तथा ब्रिटिस आर्मीका लागि योग्य हुन्छन् ।
एउटा युवालाई योग्य ब्रिटिस आर्मी तथा सिंगापुर प्रहरी बनाउन देशभर करिब एक सय ट्रेनिङ सेन्टरले सहयोगीको भूमिका खेलिरहेका छन् । काठमाडौं र आसपासमा रहेका युवाहरूलाई यहाँका ३० वटा फिजिकल ट्रेनिङ सेन्टरले सहयोग गरेका छन् भने धरानमा ३० र पोखरामा २८ वटा यस्ता तालिम केन्द्र रहेको योगेश राई बताउँछन् ।
एसोसिएनभन्दा बाहिर पनि केही ट्रेनिङ सेन्टर क्रियाशील छन् । यसपटक आवेदन दिएकामध्ये ८० प्रतिशत युवाले ट्रेनिङ सेन्टरमा तालिम लिइरहेको राईको दाबी छ । राई भन्छन्– बाँकी २० प्रतिशत पनि अघिल्ला वर्ष तालिम लिएका तथा त्यसैलाई आधार मानेर आफैं प्राक्टिस गरिरहेकाहरू छन् । ८० प्रतिशतले तालिम केन्द्रमा आएर के सिक्छन् त ? साप्ताहिकको प्रश्नमा राई भन्छन्— हामीले योग्य उम्मेदवार बनाउन सबै किसिमका (शारीरिक तथा मानसिक) सीप सिकाउँछौं । कस्ता व्यक्ति योग्य हुन्छन् कसले सक्दैनन् भन्ने कुराको जानकारी प्रारम्भिक परीक्षाबाटै दिन्छौं । यसो गर्दा अयोग्य व्यक्तिले थप दु:ख पाउँदैनन् भने योग्यहरूले थप ज्ञान–सीप प्राप्त गर्छन् ।
फारम भर्न कति योग्यता चाहिन्छ ?
एसईई परीक्षामा अंग्रेजी र गणित विषयमा कम्तीमा सी ग्रेड प्राप्त शैक्षिक प्रमाणपत्रका साथै आफ्नो नागरिकतासँगै आमा–बुबा दुवैको नागरिकताको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्छ । फारम भर्दाको अन्तीम उमेर कम्तीमा १७ वर्ष ६ महिना पुगेको हुनुपर्छ भने २१ वर्ष कटेको हुनु हँुदैन । फारम भरिसकेपछि पहिलो चरणमा शारीरिक योग्यतासम्बन्धी परीक्षाको तयारीमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ ।
सबैभन्दा पहिलो कुरा शारीरिक उचाइ कम्तीमा पनि १ सय ५८ सेन्टिमिटर हुनै पर्छ भने शारीरिक तौल कम्तीमा ५० किलोग्राम हुनुपर्छ । त्यसपछि उचाइअनुसार मिल्दो अनुपातको तौल पनि छनौटको मापदण्ड हो । धेरै मोटा व्यक्ति रोजाइमा पर्दैनन् । दोस्रो सर्तमा छातीको नापलाई लिइन्छ, छाती कम्तीमा ३२ इन्च हुनैपर्छ । शारीरिक बनोटसँगै आँखामा ठूलो समस्या भएर लेन्स लगाएका युवा पनि आवेदनका लागि अयोग्य हुन्छन् । शरीरको कुनै पनि भागमा गहिरो चोटपटक भएका व्यक्ति पनि अयोग्य ठहरिन्छन् ।
कस्तो–कस्तो परीक्षा ?
शारीरिक परीक्षणपश्चात् पहिलो चरणमा अंग्रेजी र गणितको राइटिङ टेस्ट हुन्छ । सिंगापुर प्रहरीका लागि नेपाली भाषाको समेत परीक्षा लिइन्छ । उक्त परीक्षामा उत्तीर्ण भएपछि शारीरिक परीक्षा सुरु हुन्छ । जसमा कम्तीमा ८ पटक ह्याविङ गर्नुपर्ने हुन्छ । त्यसैगरी २ मिनेटमा ७० पटक सेटअप तथा २ मिनेट ४० सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्नुपर्ने हुन्छ ।
यी सबै प्रक्रियामा उत्तीर्ण भैसकेपछि अंग्रेजी र नेपाली दुवै भाषामा अन्तर्वार्ता लिइन्छ । यी दुवै अन्तर्वार्तामा सफल उम्मेदवारलाई पोखरामा एकै ठाउँमा भेला पारिन्छ र अन्तिम छनौटका लागि तयारी गरिन्छ ।
अन्तिम छनौट
दुवै ठाउँका प्रतिस्पर्धीहरू पोखरामा जम्मा भएपछि त्यहाँबाट २ सय ७० ब्रिटिस आर्मी तथा ८० सिंगापुर प्रहरीका लागि छानिन्छन् । ती छानिनुअघि २४ सय मिटर दौड कम्तीमा ९ मिनेट २० सेकेन्डमा पूरा गर्नुपर्छ । त्यसपछि २५ किलोग्रामको डोको क्यारी गरेर ५ किलोमिटरको दूरी ४६ मिनेटमा पार गर्नुपर्छ । यो परीक्षा पहाडको बाटोमा लिइन्छ । यी दुवै परीक्षा पूरा भएपछि पुन: शैक्षिक योग्यतासम्बन्धी परीक्षा लिइन्छ, जसमा कक्षा १० सम्मलाई आधार मानी अंग्रेजी र गणितसम्बन्धी प्रश्नहरू सोधिन्छ । यी सबै चरण पार गरिसकेपछि अन्त्यमा अन्तर्वार्ताको माध्यमबाट योग्य उम्मेदवार छनौट गरिन्छ र त्यहाँबाट छनौट भएका युवाहरूको लाहुरे यात्रा सुरु हुन्छ ।
कमाइ
पोखराबाट छनौट भएका ब्रिटिस आर्मीका उम्मेदवारले नौ महिनाको तालिम अवधीमा महिनाको १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्छन् । तालिम पूरा भएपछि २ लाख रुपैयाँदेखि विभिन्न देशको मिसन हेरी प्रतिमहिना ५ लाख रुपैयाँसम्म कमाइ हुन्छ । भर्ती भएको १५ वर्षपछि स्वेच्छिक अवकाश लिन सकिन्छ भने निश्चित अवधिसम्म पनि काम गर्न पाइन्छ । अहिले बेलायत सरकारले ब्रिटिस गोर्खा आर्मीका लागि बेलायतमै आवासीय सुविधा समेत उपलब्ध गराउन थालेको छ ।
ब्रिटिस आर्मीको दाँजोमा सिंगापुर प्रहरीमा भने त्यति सेवा–सुविधा उपलब्ध हुँदैन । उनीहरूले तालिम अवधिमा मासिक ७५ हजार रुपैयाँ तलब प्राप्त गर्छन् । सेवा अवधि पनि २७ वर्ष पुर्याउनैपर्ने हुन्छ । त्यहाँबाट अवकाश पाएपछि अनिवार्य रूपमा नेपाल फर्कनैपर्छ । यी दुवै संगठनमा राम्रो मेहनत गर्न सक्ने व्यक्ति उच्च तहसम्म पुगेका थुप्रै उदाहरण छन् ।