चलचित्र छक्कापञ्जा–२ को ‘म यता किनारामा’ गीतको लोकप्रियतासँगै गायिका आस्था राउत पुन: चर्चामा छिन् । हरिवंश आचार्यसँगको लोकशैलीको उक्त गीत दर्शक तथा श्रोताहरूको रोजाइमा परेको छ । सांगीतिक कार्यक्रमका क्रममा कहिले मोफसल त कहिले विदेश पुगिरहेकी पृथक् स्वरकी धनी गायिका राउतले साप्ताहिकमार्फत आफूलाई रिस उठ्ने तथा मन नपर्ने प्रसंग यसरी प्रस्तुत गरेकी छिन् ।
आफैंसँग रिस
मलाई त्यसै पनि छुच्ची गायिका भन्छन् । मानिसहरूको यस्तो प्रतिक्रियाले मलाई खासै फरक पार्दैन । सबैले खुसी पार्ने काम गरे त यहाँ कोही पनि कसैसँग रिसाउनै पर्दैन नि । हो, म अलि छुच्ची छु, अलि बढी रिसाउँछु पनि, तर मलाई कडा स्वभावको बनाउने यही समाज हो । यद्यपि रिसलाई नियन्त्रणमा राख्न सकियो भने त्यो सबैभन्दा ठूलो कुरा हो जस्तो लाग्छ ।
साउन्ड सिस्टम
प्राय: कन्सर्ट दिन गएको ठाउँमा साउन्ड सिस्टम भनेजस्तो हुँदैन । दर्शक तथा श्रोताको रोजाइका गीत प्रस्तुत गर्न जोस्सिएर स्टेजमा चढ्यो, साउन्ड सिस्टमले काम गर्दैन । कहिले मोनिटरमा खराबी आउँछ त, कहिले माइकले काम गर्दैन । त्यतिबेला गीत गाउने जोस त्यसै मरेर जान्छ भने अर्कातिर दर्शकलाई पनि स्वादिलो शैलीमा आफ्ना गीत सुनाउन सकिंदैन ।
भीडको दबाब
कन्सर्टमा प्रस्तुत हुनुअघि म एकदमै एकान्त चाहन्छु, तर भैदिन्छ ठीक उल्टो । गीत गाउनुअघि नै प्रशंसकहरू फोटो खिच्न, सेल्फी लिन तँछाड–मछाड गर्नुहुन्छ । कन्सर्ट सकिएपछि म सयौं तस्बिर खिच्न तयार हुन्छु तर कन्सर्ट प्रारम्भ हुनुभन्दा अघि नै भीडले दबाब दिन थालेपछि मेरो रिसको पारो चढ्छ ।
लेन अनुशासन पालना नगर्ने चालक
काठमाडौंको सडकमा लेन अनुशासन कायम नभएको देख्दा असाध्यै रिस उठ्छ । ट्रक, बस तथा माइक्रोको त के कुरा गर्नु ? उनीहरूले मान्छे टिप्न गर्ने अस्वस्थ प्रतिस्पर्धाको जति नै निन्दा गरे पनि कम हुन्छ । हाम्रो सहरमा स्कुटर र मोटरसाइकल चालकले लेन अनुशासन पालना नगरी जसरी हुन्छ पेलेर सबैभन्दा अगाडि पुग्न गरेको प्रतिस्पर्धा देख्दा मलाई मात्र होइन, अरूलाई पनि रिस उठ्दो हो नि †
राजनीति
नेपालका नेताहरू जुन जोगी आए पनि कानै चिरेका जस्ता छन् । भाषणमा यसो गर्छु र उसो गर्छु भन्छन् तर वास्तविक जीवनमा केही पनि गर्दैनन् । उनीहरूले भाषणको साटो काम मात्र गरे हामी रिसाउने स्थिति नै पैदा हुँदैन ।
जातिवादी प्रतिक्रिया
सामान्यत: हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने नारा हामी सबैलाई कण्ठस्थ छ । सामाजिक सञ्जालमा भने यो नियम लागू भएको देख्दिनँ । प्राय: जातजाति र ठाउँको आधारमा सधैं अस्वस्थ स्टाटस तथा प्रतिक्रियाहरू पढ्न बाध्य हुनुपर्छ । जातजातिबीच द्वेष फैलाउने त्यस्ता नकारात्मक टिप्पणी देख्दा नरिसाउने मान्छे पनि मान्छे हुन र ?
राहत उठाउने काम
केही वर्षअघि जुरेमा आएको पहिरो होस् अथवा दुई वर्षअघिको भूकम्प । भर्खरै तराईको बाढीलाई पनि उदाहरण मान्न सकिन्छ । यस्तो विपत्तिका बेला प्राय: सबै राहत संकलन गर्ने अभियानमा जुटेको देख्छु तर वास्तविक पीडितसम्म ती सबै राहत पुगेको छ जस्तो मलाई लाग्दैन । खराब मानसिकता भएका कतिपय व्यक्तिले यस्तो अप्ठ्यारो परिस्थितिको फाइदा उठाइरहेको देख्दा मलाई मात्र होइन जोकसैलाई रिस उठ्छ ।
कार्यक्रमका आयोजक
मेला, महोत्सवका आयोजकले कलाकारलाई सम्मान नदिएको, बोलेको कुरा पुरा नगरेको देख्दा एउटी व्यवसायिक गायिकाका रूपमा स्वभाविक रूपमा रिस उठ्छ ।
फेक समाचार
च्याउझैं उम्रिएका अनलाइन, युट्युब च्यानल तथा फेसबुकमै समेत बकम्फुसे हेडलाइन राखेर भ्युअर्स बढाउनेहरू देख्दा कम्पारा तातेर आउँछ ।