साप्ताहिक संवाददाता
भुटानमा सम्पन्न यू–१८ साफ च्याम्निपसिपमा सहभागी नेपाली टिमका व्यवस्थापक थिए, गणेश चन्द । उनले पूरा प्रतियोगितालाई नजिकबाट हेर्ने अवसर पाए र चन्दले त्यसको विश्लेषणसमेत गरेका छन् । यही विषयमा चन्दसँग साप्ताहिकको पाँच प्रश्न :
भुटानविरुद्ध पहिलो खेलको हार निकै पीडादायी रह्यो होइन ?
पक्कै पनि । यसअघि हामीले भुटानविरुद्ध कुनै पनि स्तरका खेल गुमाएका थिएनौं, तर यसपल्ट पहिलो खेलमै हामी भुटानी टिमविरुद्ध पराजित भयौं, यो हाम्रो लागि ठूलो शिक्षाका रूपमा रहनेछ ।
उक्त हारको कारण के थियो ?
सम्भवत: हाम्रा खेलाडी बढी नै आत्मविश्वासी भए, स्वार्थी भएर खेले । फुटबलमा ओभर कन्फिडेन्स हुनु कहिल्यै राम्रो मानिँदैन ।
त्यसपछि टिमको प्रदर्शनमा कसरी सुधार आयो ?
उक्त हारपछि सबै खेलाडीले जीवनकै ठूलो शिक्षा लिए र अनुशासित रूपमा खेल्न थाले । सबै खेलाडीले त्यसयता टिम र प्रशिक्षकले तय गरेको रणनीति अनुसार खेले ।
के भुटानी फुटबलको स्तरमा सुधार आएको हो ?
पक्कै पनि हो । हामीले भुटानमा रहेको बेला त्यही महसुस गरेका थियौं । अन्तिम दिनसम्म पनि भुटानसँग पनि प्रतियोगिता जित्ने अवसर थियो । हामीले भुटानमा अभ्यास गरेका दुई मैदान पनि स्तरीय थिए । भुटानले भौतिक पूर्वाधारमा पनि राम्रो प्रगति गरिरहेको छ ।
बाँकी खेलको जितले उपाधिसँगै खुसी पनि ल्यायो ?
दसैंको मुखमा उपाधि जितेर हामीले सबै नेपाली फुटबल प्रेमीलाई खुसी दिन सक्यौं । यो भन्दा ठूलो उपलब्धि अरू के चाहियो र ? पूरा प्रतियोगिताले नेपाली फुटबललाई दिएको शिक्षा हो, प्रतिद्वन्द्वीजस्तै कमजोर अथवा बलियो किन नहोस्, खेलमा हेलचेक्र्याइँ गर्नु हुँदैन ।