प्रदेश स्तरीय ट्वान्टी–ट्वान्टी क्रिेकट प्रतियोगितामा लुम्बिनी क्रिकेट क्लबले उपाधि हात पारेको छ । फाइनमा प्रोफेसनल क्रिकेट क्बल पाल्पालाई सय रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी नवयुवा क्रिकेट क्लब लुम्बिनी, रुपन्देहीले जित हात पारेको हो ।
फाइनलमामा टस जितेर प्रोफेशनलले फिल्डिङ् रोजेपछि ब्याटिङ्मा उत्रिएको लुम्बिनीले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १४९ रनको योगफल जोड्यो । उसकालागि मैनुद्दिन खानले सर्वाधिक ३५ रन जोडे । यस्तै, सज्रुद्दिन खानले २५, मुमिक खान र अहमद खानले १८–१८ र मुरन अलीले १४ रनको योगदान दिए । वलिङमा प्रोफेशनलका अजय सुवेदीले चार, सुरज थापाले तीन र महेन्द्र सुवेदीले दुई विकेट लिए ।
१५० रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको प्रोफेशनले १५ ओभर खेल्दा सबै विकेट गुमाएर ४९ रनमै समेटियो । प्रोफेशनलका प्रविन जीसीले २७ रनको योगदान दिए । अन्य खेलाडीको व्याटिङ चम्कन सकेन । वलिङ्मा लुम्बिनीका मैनुद्दिन खान र बैतुल्लाह खानले तीन–तीन विकेट लिए । मौनावर खानले दुई, वशिर खान र अहमत खानले एक–एक विकेट लिए । लुम्बिनिका मैनुद्धिन खान काजु म्यान अफ दी म्याच घोषित भए ।
उपाधि जितेसंगै लुम्बिनीले ६० हजार नगद, ट्रफि, प्रमाणपत्र र मेडल पाएका छ्न । बिजेतालाई जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, दमकडा क्रिकेट क्लबका आदित्य पाण्डेय, अच्यूत पाण्डेय, बगनासकाली गाउँपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्याल, तानसेन, ९ का वडाध्यक्ष हरिसुमर रेग्मीलगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरे । उपबिजेता भएसंगै प्रोफेशनलले नगद ३० हजार, प्रमाणपत्र र मेडलमै चित्त बुझायो ।
खेल अवधिभर अनुशासित खेल्ने दमकडा क्रिकेट क्लब जुनियरलाई पनि नगदसहित पुरस्कृत गरियो । खेलमा म्यान अफ दि सिरिज लुम्बिनीका मैनुद्दिन खानले नगदसहित ट्रफि पाए । खेल अवधिमा बेस्ट क्याच दमकडा जुनियरका अभिषेश पाण्डेय, उदीयमान खेलाडी जुनियरकै रोजित अधिकारी, सबै भन्दा कान्छो खेलाडी जुनियरकै सुभम भुसाललाई नगदसहित ट्रफिले सम्मान गरियो । खेल अवधिभर उत्कृष्ट रिपोर्टिङ गर्ने कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याललाईसमेत सम्मान गरिएको छ । पाल्पा, रुपन्देही, कपिलवस्तु र स्याङजाका गरी १६ टिमले प्रतियोगितामा सहभागिता जनाएको आयोजक समितिका सदस्य विजय बौडेलले बताए ।