साप्ताहिक संवाददाता
कुन कुरामा खुसी हुनुहुन्छ ?
कुनै अर्जेन्ट नभएको बेला वा कामको हतार नभएको क्षणले नै मलाई खुसी बनाउँछ । कुनै कुराको प्रेसर तथा जिम्मेवारी नभएको क्षणमा म खुसी हुन्छु । कामको बेला त म खुसी हुनै सक्दिनँ ।
कुन कुराले दु:खी तुल्याउँछ ?
आवश्यकताभन्दा बढी व्यस्तताले मलाई दु:खी बनाइरहेको हुन्छ ।
के कुरामा रिसाउनुहुन्छ ?
पत्याउनु हुन्न होला, मलाई रिसाउनै आउँदैन । म असाध्यै कम रिसाउँछु । यस्तो अवस्थामा त रिसाउनु नि...भन्ने साथीभाइहरू पनि छन् ।
रिस उठ्यो भने के गर्नुहुन्छ ?
रिस उठिहाल्यो भने मलाई दिक्क लाग्छ । दिक्क लागेपछि म एक्लै बस्छु ।
फुर्सदमा के गर्नुहुन्छ ?
गिटारसँग रमाउँछु ।
आफ्नो दैनिकी बताइदिनुस् न ?
बिहान अलि ढिला उठ्छु । हल्का व्यायाम गरेर खाना खाएपछि घरबाट बाहिर निस्कन्छु । घर पुग्दा राति ८–९ बजेको हुन्छ । राती दुई–चारवटा गीत नसुनी निद्रा लाग्दैन ।
तपाईंका नराम्रा बानी के–कस्ता छन् ?
म एस म्यान हुँ । कसैलाई पनि नाइँ भन्न मन लाग्दैन । सबैलाई हुन्छ भन्ने बानीले कतिपय अवस्थामा मलाई गाह्रो समेत पारेको छ । म भित्रबाट कन्फिडेन्ट छैन, नयाँ काम लिंदा डर लाग्छ ।