साप्ताहिक संवाददाता
निर्देशक : मार्टिन क्याम्पबेल कलाकार : ज्याकी च्याङ, केटी लियुङ, रफुस जोन्स, मार्क टेन्डी आदि ।
ज्याकी च्याङ विगत चार दशकदेखि चिनियाँ चलचित्र हुँदै हलिउडसम्म छाएका छन् । उमेर ढल्कदै गए पनि आफ्नो एक्सन छविलाई कम हुन दिएका छैनन् च्याङले । गत वर्ष बलिउडका कलाकारहरूसँग उनले चलचित्र ‘कुङ्फु योगा’मा बलिउड स्टाइलमा काम गरेर प्रशंसा बटुले । यो वर्ष उनी एक छोरीको बाबुको भूमिकामा चलचित्र ‘द फरेनर’मा देखा पर्दैछन् ।
आज शुक्रबार संसारभर एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘द फरेनर’मा ज्याकी एक हुर्किएकी छोरीको व्यापारी बाबु बनेका छन् । चलचित्रको कथाअनुसार चीनबाट लन्डन पुगेका ज्याकी आफ्नी छोरीलाई साथमा राख्नमै खुसी छन् । लन्डनमा एक चाइनिज रेस्टुराँ चलाइरहेका ज्याकीलाई त्यतिबेला बज्रपात पर्छ, जब एक आतंकवादी बम बिस्फोटमा उनकी छोरीको ज्यान जान्छ ।
छोरीको मृत्युबाट विक्षिप्त ज्याकीले उनकी छोरीको हत्याराविरुद्ध कारबाही गराउन बेलायती प्रहरी तथा कानुनको सहारा खोज्छन् । जबकि हत्याराको पहिचान भैसकेको हुन्छ । कतैबाट सहयोग नपाएपछि ज्याकी छोरीको हत्याको बदला लिन आफैं अघि सर्छन् । स्टिफन लेदरको पुस्तक द चाइनाम्यानमा आधारित चलचित्र ‘द फरेनर’मा ६१ वर्षीय एक्सन अभिनेता च्याङले फरक खालको एक्सन प्रस्तुत गरेका छन् ।