बडादसैं सकिएलगत्तै नेपालीहरूलाई तिहारले छोपिसकेको छ । झिलिमिली बत्तीको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रूपमा लिइन्छ । उमंग एवं उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको आफ्नै महत्व छ । शरद ऋतु भएकाले यतिबेला घर–आँगनमा गोदावरी, सयपत्री तथा मखमली आदि फूल फक्रिएका छन् ।
हिन्दू धर्मशास्त्रअनुसार तिहारमा काग, कुकुर, गाई, गोरुका साथै दाजुभाइको समेत पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामग्रीहरूको व्यापार पनि निकै हुन्छ । तिहारमा अनेकौं सामग्री प्रयोग गर्ने परम्परा छ । ती सामग्रीले सदैव तिहारको झझल्को दिन्छन् ।
फूल–माला
तिहारका लागि अति आवश्यक सामग्रीमध्ये एक हो— फूल–माला । यो अवसरमा सयपत्री, गोदावरी तथा मखमलीको विशेष महत्व हुन्छ । घर सजाउनदेखि पूजा–आराधना गर्न यिनै फूल प्रयोग गरिन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकीले यति बेला फूल–माला र झिलिमिली बत्ती प्रयोग गरिन्छ । कुकुर, गाई, गोरुका साथै दाजुभाइलाई फूलको माला पहिर्याइदिने चलन छ । मखमली फूल कहिल्यै ओइलाउँदैन अनि सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यताअनुरूप भाइटीकामा यी फूलको माला लगाउने चलन चलेको बताइन्छ ।
रातो माटो
तिहारमा रातो माटोको विशेष महत्व छ । लक्ष्मीपूजाका दिन रातो माटोको घेरा बनाई घरमा लक्ष्मी भित्र्याइन्छ । आँगन, तुलसीको मठ, घरको मूलढोका हुँदै भण्डारसम्म रातो माटोको घेरा बनाएर पोत्ने चलन छ । रातो माटोलाई पवित्र मानिने भएकाले भाइटीका एवं गोवद्र्धन पूजा गर्दा पनि रातो माटो प्रयोग गरिन्छ ।
सप्तरंगी टीका एवं अबिर–केसरी
बजारमा सप्तरंगी टीका देख्नासाथ तिहारको झझल्को पाइन्छ । हाम्रा हरेक पूजामा अबिर–केसरीको आवश्यकता पर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको यश, आरोग्य एवं दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिने चलन छ । अष्ट चिरिञ्जीवी तथा लक्ष्मीपूजा गर्दा पनि अबिर–केसरी आवश्यक हुन्छ ।
भाइमसला
तिहारको पूर्वसन्ध्यामा बजारमा भाइमसलाको बिक्री अत्यधिक बढ्छ । भाइमसला तिहारमा नभैनहुने सामग्री हो । भाइ मसलामा नरिवल, काजु, किसमिस, सुकुमेल, ल्वाङ, सुपारी, छोहारा, दालचिनी आदि हुन्छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिसकेपछि यस्तो मसला दिने चलन छ । नेवार समुदायमा म्ह पूजा गर्दा पनि यस्तो मसला प्रदान गर्ने चलन छ ।
चामलको पीठो
तिहारमा सेलरोटी, अनरसा वा मिठाईका अन्य परिकार बनाउन चामलको पीठो अनिवार्य मानिन्छ । लक्ष्मीपूजाका दिन पनि चामलको पीठो आवश्यक हुन्छ । घरको मूलढोकादेखि पूजा कोठासम्म चामलको पीठोले लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बाली लक्ष्मीको स्वागत गर्ने परम्परा छ । गोवद्र्धन पूजा, म्ह पूजा तथा भाइटीका गर्दा बनाइने मण्डपमा पनि चामलको पीठो प्रयोग गरिन्छ ।
तेल र घ्यू
तिहारका पाँचै दिन आवश्यक पर्ने सामग्रीमध्ये तेल र घ्यू प्रमुख मानिन्छ । सेलरोटीका साथै अन्य मिठाई पकाउन तेल तथा घ्यू प्रयोग गरिन्छ । दियो बाल्न एवं भाइटीकाको दिन दाजुभाइको केशमा लगाइदिन शुद्ध तोरीको तेल चाहिन्छ ।
मैनबत्ती र धूप
घरआँगनलाई उज्यालो बनाउन तथा मीठो सुगन्धका लागि तिहारमा मैनबत्ती एवं धूप आवश्यक हुन्छ । तिहारका प्रत्येक साँझ–बिहान पूजा–आराधना गर्दा मैनबत्ती तथा धूप बालिन्छ ।
कालो भटमास र मासको गेडा
नेपाल संवत्अनुसार कार्तिक शुक्ल प्रतिपदा तिथिमा म्ह:पुजा गर्ने चलन छ । नेवार समुदायमा परिवारका सबै सदस्य भेला भएर गरिने यो पूजाका अवसरमा कालो भटमास र मासको गेडा आवश्यक हुन्छ । हाँस वा कुखुराको फूल सगुन चढाई तान्त्रिक विधिबाट गरिने उक्त पूजामा अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान तथा बेसारले रंगाइएको चामलको धूलो प्रयोग गरिन्छ ।
ओखर र बिमिरो
भाइटीकामा ओखर र बिमिरोको विशेष महत्व छ । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यमदूतको टाउको मानिने ओखर फुटाउने चलन छ । यसरी ओखर फुटाउँदा दाजुभाइको कालको बाटो छेकिने विश्वास गरिन्छ । भाइटीकाकै अवसरमा विभिन्न रोगको प्रतीक बिमिरोलाई पूजा गरी काटेर फाल्ने चलन छ ।
दूबो र कटुस
भाइटीकाका दिन दूबो र कटुसको प्रयोग अनिवार्य मानिन्छ । दियो, कलश तथा गणेशको पूजा गरी यमराजको आह्वान गर्दै दूबोको माला र कटुस प्रयोग गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै दूबो लगाइदिन्छन् ।
गाईको गोबर
तिहारमा घरआँगन पवित्र बनाउन गाईको गोबरले लिपपोत गर्ने चलन छ । हिन्दू संस्कारअनुसार शरीर शुद्धिका लागि पञ्चगव्य मानिने गाईको दूध, दही, घ्यू, गहुँत तथा गोबरमध्ये गोबरले लिपेको ठाउँ विषाणुरहित हुन्छ भन्ने कुरालाई विज्ञानले समेत प्रमाणित गरिसकेको छ ।
पाला तथा दियो
तिहारमा घर उज्यालो बनाउन पाला वा दियो प्रयोग गरिन्छ । माटाको पालामा तेल हाली कपासको बत्ती बालेर दीपावली गरिन्छ ।