साप्ताहिक संवाददाता
मोबाइलमा तिहारको शुभकामना गीत बज्न थालिसकेका छन् । फेसबुकमा शुभकामनाका रहर लाग्दा डिजाइन उपलब्ध भैसकेका छन् । जमाना हाइटेकको छ । त्यसैले प्रविधिको प्रयोग गरी तिहारलाई थप हाइटेक बनाइँदैछ ।
तिहारमा शुभकामना आदानप्रदान गर्न मात्र होइन, आफैंले लक्ष्मी पूजा गर्न, रंगोली बनाउन वा अन्य विभिन्न अवसरलाई मनमोहक बनाउन समेत अब हातमा भएको मोबाइल तथा त्यसमा इन्टरनेट भए पुग्ने भएको छ ।
आफ्नो स्मार्टफोनमै तिहार मनाउन अनि तिहारको झलक प्राप्त गर्न सकिन्छ । तिहारको अवसरमा गरिने लक्ष्मीपूजादेखि लिएर रंगोलीको डिजाइन समेत आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गर्न सकिन्छ । गुगल प्ले स्टोरमा यस्ता सबै एप्स उपलब्ध छन् ।
नेपालमा भन्दा पनि भारतमा यस्ता एप्स प्रशस्तै निर्माण भएका छन् । भारत र नेपालको संस्कृति मिल्दोजुल्दो भएकाले हामीले त्यस्ता एप्स प्रयोग गरी तिहारलाई थप उल्लासमय बनाउन सक्छौं । भारतमा तिहारलाई दिवालीका रूपमा मनाइने भएकाले धेरै एप्समा दिवाली शब्द जोडिएको पाइन्छ ।
तिहारमा रंगोलीको चर्चा निकै हुन्छ । घरको अगाडि सुन्दर रंगोली डिजाइन गर्न रंगोली फर दिवाली एप्सको सहयोग लिन सकिन्छ । यो एप्समा १ सयभन्दा बढी रंगोलीका डिजाइन उपलब्ध छन् । आफूलाई मन लागेको डिजाइन छनोट गरी रंगोली निर्माण गर्न सकिन्छ । यो एप्सको प्रयोग अफ लाइनमा समेत गर्न सकिन्छ ।
लक्ष्मीपूजामा लक्ष्मीका साथ गणेशको समेत पूजा गरिन्छ । पूजाका लागि सधैं पुरोहित उपलब्ध हुन्छन् भन्न सकिँदैन । त्यसका लागि लक्ष्मी पूजा–जनाना प्रबोधिनी एप्स आफ्नो स्मार्टफोनमा इन्स्टल गर्न सकिन्छ । यसमा लक्ष्मी पूजाका लागि आवश्यक सबै विधि दिइएको छ । पूजा विधिको रेकर्ड पनि पुरोहितकै आवाजमा उपलब्ध छ । पूजाको तयारीदेखि लिएर संकल्पको समयसम्मका सबै प्रक्रिया यसमा उपलब्ध छन् ।
लक्ष्मी पुजन नामक अर्को एप्स पनि उपलब्ध छ । यसमा लक्ष्मी पुजनको विधि, आरतीको विधि आदिका सम्बन्धमा जानकारी दिइएको छ । यी एप्स प्रयोग गरी लक्ष्मी पूजालाई थप उल्लासमय बनाउन सकिन्छ ।
यो तिहारको सबै समयका लागि वान–इन–अल एप्सका रूपमा दिवाली पूजा अडियो एचडी उपलब्ध छ । यसमा अडियो एचडी वालपेपर, रंगोली, लक्ष्मी गणेश आरती, मन्त्र आदि हिन्दी तथा अंग्रेजी भाषामा उपलब्ध छ । गुगल प्ले स्टोरमार्फत इन्स्टल गरी यो एप्स प्रयोग गर्न सकिन्छ ।
लक्ष्मीपूजा र तिहारको अन्य अवसरलाई थप रोमाञ्चक बनाउन ५० टप दिवाली सङ्स एप्स प्रयोग गर्न सकिन्छ । यो एउटै एप्लिकेसनमा लक्ष्मीसँग सम्बन्धित ५० वटा गीत उपलब्ध छन् जसमा लक्ष्मी आरती, भजन, व्रत कथा, मन्त्र तथा देवीका १ सय ८ नाम समेत उपलब्ध हुन्छन् ।
पूजाको समयमा ब्यस्तताका कारण मन्दिर जान नपाए आफ्नो स्मार्टफोनमै लक्ष्मी टेम्पल फर दिवाली एप्स प्रयोग गरी भर्चुअल मन्दिर निर्माण गर्न सकिन्छ । यति मात्र नभई मन्दिरलाई आफ्नै तरिकाले डिजाइन समेत गर्न सकिन्छ । यसमा वालपेपर, मन्दिरका पिलर, आरती, फुल, बत्ति आदि समेत बनाउन सकिन्छ ।
तिहारमा साथीभाइ तथा आफन्तलाई शुभकामना पठाउन विभिन्न किसिमका एप्स प्रयोग गर्न सकिन्छ भने वालपेपर, रिङटोन तथा रंगोलीका डिजाइन साथी–भाइ माझ सेयर गर्न सकिन्छ ।
यसबाहेक दिवाली धमाल, ह्याप्पी दिवाली, दिवाली ग्रिटिङ कार्ड, दिवाली दियाजस्ता एन्ड्रोइड एप्स समेत उपलब्ध छन् । गुगल प्ले स्टोरमार्फत यी एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।