साप्ताहिक संवाददाता
तिहार भन्नासाथ मलाई निकै रमाइलो अनुभूति हुन्छ । सानोमा तिहारमा बिताएका रमाइला पलहरू सम्झनामा आउँछन् । मेरो घर मोरङ भए पनि म जन्मिए– हुर्किएको दार्जिलिङमा हो । तिहारका बेला दार्जिलिङ सहर पूरै झिलिमिली हुँदा मेरो मन आनन्दित हुन्थ्यो । अहिले तिहार भन्यो कि म दार्जिलिङको झिलिमिली सम्झन्छु । तिहार भनेपछि चारैतिर झिलिमिली, गीत–संगीत तथा रमझम भन्ने बुझ्छु । घर सजाउन र झिलिमिली पार्न मलाई निकै रमाइलो लाग्छ । म राम्रो रंगोली बनाउँछु । लक्ष्मीपूजाको साँझ घरको मूलढोका बाहिर रंगोली बनाउन म आफै तम्सिन्छु । दियो, बत्ती आदि बालेर घरलाई झिलिमिली बनाएपछि सहरमा अरू तिर गरिएको झिलिमिली हेर्न निस्कन्छु ।
दुई वर्षअघिसम्म त म पनि देउसी भैलो खेल्थे । विभिन्न मानिसको घरमा भएको झिलिमिली हेर्दा मनै आनन्दित हुन्थ्यो । अहिले भने देउसी भैलो खेल्न आउने भाई बहिनीहरूसँग रमाइलो गर्छु । म पटाका पड्काउन र तास खेल्न भने रुचाउँदिन । दार्जिलिङमा निकै पटाखा पड्काउँथे, तर मलाई डर लाग्थ्यो, अनावश्यक कोलाहाल जस्तो लाग्छ पटाका । बरु झिरझिरे बाल्न भने मज्जा लाग्छ । आगोसँग खेल्नु हुँदैन, खति हुनसक्छ भन्ने बुढापाकाहरूले भनेको सम्झन्छु । त्यसैले मलाई त पटाकाभन्दा झिलिमिली नै मनपर्छ । मेरा लागि तिहार भनेकै गीत–संगीत अनि झिलिमिली हो ।