साप्ताहिक संवाददाता
मलाई चाडपर्व खासै मन पर्दैन । चाडपर्वमा काम गर्न पाइँदैन । म लामो समय फुर्सदमा बस्न सक्दिनँ । दसैं–तिहार जस्ता चाडपर्व रमाइला हुन्छन् । यद्यपि यो लामो समयको फुर्सद पनि हो । दसैंमा यत्तिकै घरमा बसिन्छ वा साथीभाइहरूसँग समय बिताइन्छ । काम केही हुँदैन । त्यही हो, परिवारका सदस्यहरूसँग धेरै पछि समय बिताउन पाइन्छ । तिहारमा भने मलाई रमाइलो लाग्छ ।
मेरो मूलघर हेटौंडा हो । हेटौंडामा हुँदा चारजनाको एउटा संगीत समूह थियो– मेडिटेसन । समूहसँग हामी देउसी–भैलो खेल्न जान्थ्यौं । हामी चारैजना एउटै बाइकमा बसेर देउसी भैलो खेलेको अहिले पनि सम्झना आउँछ । समय त्यो बेलाको जस्तो छैन । अहिले त देउसी भैलो खेल्ने युवाहरू नै कम भए जस्तो लाग्छ । तिहारमा मलाई सबैभन्दा रमाइलो भाइटीकाको दिन लाग्छ । हामी तीन जना दाजुभाइ दिदीको घर जान्छौं र टिका लगाउँदै रमाइलो गर्छौं ।
मेरा दाइ कमल क्षेत्री (गायक), म र भाइ केतनले दिदीको घरमा उत्पातै मच्चाउँछौं । कविता दिदीले हरेक भाइटीकामा लुगा उपहार दिनुहुन्छ । दिदीले ल्याएको आफ्नो च्वाइसको लुगा हामी एक–अर्कासँग लुकाउँछौं । टीका लगाएर खाना खाने बेलासम्म दिदीले एउटालाई भनेर ल्याइदिएको लुगा अर्कैले लिइसकेको हुन्छ । त्यस्तो रमाइलोले भाइटीकालाई नै अविस्मरणीय बनाइदिन्छ ।