साप्ताहिक संवाददाता
तिहार भन्ने बित्तिकै सबैभन्दा पहिले के सम्झनुहुन्छ ?
देउसी र झिलिमिली नै सम्झन्छु । त्यसपछि भाइटीका र लक्ष्मीपूजा सम्झन्छु ।
पटाकामा कति पैसा खर्च हुन्छ ?
अहिले त किन्नै पाइँदैन, त्यसैले खर्च हुँदैन । पहिले–पहिले बुवाले वीरगन्जबाट मगाउनुहुन्थ्यो, खुबै पड्काइन्थ्यो ।
पटाका पड्काउँदाको कुनै सुखद घटना ?
सुखद होइन दु:खद घटनाचाहिँ घटेको छ । एक पटकको तिहारमा आलु बम पड्काउने क्रममा मेरो खुट्टा मै परेको थियो । त्यसले खुट्टाको औंला नै बिगारेको थियो ।
तासमा सबैभन्दा बढी कति जित्नुभएको छ ?
म प्राय: तास खेल्दिन । चाडपर्वमा भाइ–बहिनीहरूसँग खेल्छु । एक पटक साथीहरूसँग तास खेल्दा झन्डै ५ हजार रुपैयाँ जितेको थिएँ ।
देउसी खेल्दा कति–कति बाँड्नुहुन्थ्यो ?
सानोमा २–४ रुपैयाँ बाँडियो होला । अलि ठूलो भएपछि साथीहरूको ब्याण्डबाट देउसी खेलियो । सूचना पठाएर खेलिएको देउसीको पैसाले हामी पिकनिक जान्थ्यौं ।
भाइटीकाको मसला साँचेर राख्नुहुन्छ कि तुरुन्तै सक्नुहुन्छ ?
बहिनीले दिएको मसलाको काजु, किसमिस, बदाम त केही मिनेटमै चट पारिदिन्छु । फलफूल र मिठाई मात्र केही दिनसम्म रहन्छ ।
तिहारको कुन कुरा मन पर्दैन ?
तिहारमा मन नपर्ने कुरा पनि हुन्छ र ? अँ...कहिलेकाहिं भाइटीकाको साइत अलि ढिलो हुँदा चिया मात्र खान पाइने भएकाले भोकले हैरान हुन्छु ।