साप्ताहिक संवाददाता
निर्देशक : सुदीप बबी भूपाल सिंह
संगीत : सुरेश अधिकारी, अर्जुन पोखरेल, राजनराज शिवाकोटी
कलाकार : रेखा थापा, आर्यन सिग्देल, राजन इशान आदि ।
तिहारका कारण यो साता शुक्रबार होइन, बिहीबार नै नेपाली चलचित्रहरू सार्वजनिक हुँदैछन् । लक्ष्मीपूजाका दिन प्रदर्शन हुने दुई नेपाली चलचित्रमध्ये रेखा थापा निर्मित तथा अभिनीत चलचित्र ‘रुद्रप्रिया’ पनि एउटा हो । रेखा थापा तथा आर्यन सिग्देलले आफूहरूबीच चलिआएको सात वर्षदेखिको वैमन्यस्यता अन्त्य गर्दै फेरि सँगै एउटै चलचित्रमा काम गर्ने निधो गरे ।
रेखाले निर्माण गरे पनि चलचित्र ‘रुद्रप्रिया’मा आर्यन सिग्देल पनि सहनिर्मातामा छन् । केही वर्षअघि काठमाडौंमा भएको एसिड काण्डलाई चलचित्र ‘रुद्रप्रिया’को मूल विषय बनाइएको छ । रेखा एसिड काण्डकी पीडित युवतीको भूमिकामा छिन् ।
चलचित्र ‘रुद्रप्रिया’ प्रेममा बाधक बन्ने राजन इशानसँग आर्यन र रेखाको द्वन्द्वमा केन्द्रित छ । थ्रिल चलचित्र मालाको निर्देशनपछि चर्चामा आएका निर्देशक सुदीप बबी भूपाल सिंहले निर्देशन गरेको चलचित्र ‘रुद्रप्रिया’का गीतले पनि राम्रो चर्चा पाएका छन् ।