साप्ताहिक संवाददाता
यसपटक दसैंपछि लामो फुर्सद मिल्यो । त्यसैले म छिट्टै घर आइहालेँ । मेरो घर परासी हो । नेपालमा भएका बेला म जसरी पनि तिहार र छठ मनाउन घर आइपुग्छु । यो वर्षको तिहार र छठ धूमधामसँग मनाउने तयारीमा अहिलेदेखि नै लागेको छु । तिहारदेखि छठसम्म हाम्रो गाउँ निकै रमाइलो हुन्छ ।
सानैदेखि हेर्दै–बस्दै आएको बजार तथा घर झिलिमिली देखिन्छन् । सानो छँदा हामी तिहारका बेला लुकी–लुकी पटाका फोड्थ्यौं । प्रहरी प्रशासनले रोक लगाउँदा–लगाउँदै पनि लुकेर पटाका पड्काउनुको मज्जा बेग्लै थियो । अहिले पनि म निर्धक्क पटाका पड्काउँछु । सावधान भएर अभिभावकहरूको निगरानीमा पटाका पड्काउदा दुर्घटना हुँदैन, तर प्रशासनलाई कसले बुझाइदियोस् यी कुरा ?
हरेक वर्ष तिहारमा पटाकामा मात्र मेरो १० देखि १५ हजार खर्च हुन्छ । सानोमा हामी गोविन्दा, ऋत्विक रोशन अनि प्रभुदेवाका गीतमा नाच्दै देउसी खेल्थ्यौं । देउसीबाट उठेको पैसाले पिकनिक मनाउन पाल्पाको श्रीनगर डाँडामा पुगिन्थ्यो । अहिले त देउसी खेल्न आएकाहरूलाई हेरेर बसिन्छ ।
तिहारपछि छठमा अर्कै किसिमको रमाइलो हुन्छ । स्थानीय झराही खोलामा छठ पूजा गर्न आउने भक्तजनका लागि राम्रो व्यवस्था गरिएको हुन्छ । मेरा दाइ यसपटक छठ पूजा व्यवस्थापन समितिको संयोजक हुनुहुन्छ । झराही खोलाको किनारामा अहिलेदेखि नै भव्य तयारी सुरु भैसकेको छ । छठको साँझ सबै जना जुटेर पूजा गरिन्छ ।
दिदी र भाउजूहरू व्रत बस्नुहुन्छ । घरमा उखुको टुक्रा, माटाको हात्ती र दियोले कौसी भर्ने काम गरिन्छ । रातभर रमाइलो हुन्छ । भोलिपल्ट उदाउँदो सूर्यको दर्शन गरेर पूजा गरेपछि पूजा समापन हुन्छ र घर पुगेर प्रसाद खाइन्छ ।