साप्ताहिक संवाददाता
पटाकासम्बन्धी रोचक तथ्य पढ्न पाइयो (पटाका तथा आतिसबाजीसम्बन्धी केही तथ्य) । वातावरण प्रदूषण बढाउने पटाकामा रोक लगाएकै राम्रो । यसबाट दुर्घटनामा समेत कमी आउँछ ।
- नवराज पोखरेल
सिनेमामा सेन्सरसिप जरुरी छ (यात्रा सन्दर्भ : सिनेमामा सेन्सरसिप) । नत्र त मनोमानी रूपमा चलचित्र निर्माण गर्नेहरूको संख्या बढ्नेछ ।
- प्रतीक आचार्य
अब अशिष्माको परीक्षा सुरु भएको छ (अशिष्मा अब निर्मात्री) । नायिकाका रूपमा खासै स्थापित हुन नसके पनि निर्मात्रीका रूपमा दर्शकहरूले कसरी लिन्छन् ? हेर्न बाँकी छ ।
अनुराग बस्नेत
संगीत संयोजक पूर्ण गुरुङलाई शीघ्र स्वास्थ्य लाभको कामना (गुरुङलाई सहयोग) । उनलाई सबैतिरबाट सहयोग जुटोस् ।
- कृष्ण गुरुङ
अभिनेता रितिक रोशन र कंगना रणावतबीचको विवाद साम्य भएकै राम्रो (बलिउड गफ : मुख खोले रितिकले) । अनावश्यक विवादले राम्रो परिणाम ल्याउँदैन । दुवैका प्रशंसकहरूका लागि पनि यो राम्रो खबर होइन ।
- पूर्ण गौतम
दिउँसै यसरी व्यवसायीहरूको हत्या हुनु, त्यसमा पनि प्रहरी घटनास्थलमा ढिलो पुग्नुले हाम्रो देशको सुरक्षा भरपर्दो छैन भन्ने जनाउँछ (फ्रन्टपेज : दाउदपथमा नेपाली डनहरू) । विगतमा पनि हाइप्रोफाइल व्यक्तिहरूको यसरी नै हत्या भएको थियो । ती घटनाबाट सरकार तथा सुरक्षा संयन्त्रले पाठ सिक्नुपर्ने हो, तर त्यस्तो भएको पाइएन । आउने दिनमा यस्ता घटना सुन्नु नपरोस् ।
- रञ्जन अर्याल
काठमाडौंको शान्तिनगर जस्तो क्षेत्रमा गोली चल्नु अत्यन्तै दु:खद घटना हो (अन्तरवार्ता : गुन्डाहरूको संरक्षणमा लज्जित हुनुपर्छ भन्ने बोधसम्म छैन) । यसले हाम्रो सुरक्षा व्यवस्था कति फितलो रहेछ भन्ने देखाउँछ । आमजनताले सुरक्षाको अनुभूति गर्न पाउन् । त्यसका लागि महानगरीय प्रहरी आयुक्तले जुनसुकै कदम चाल्न पछि हट्नु हुँदैन ।
- लोकेन्द्र
यो हो नि त कृषिप्रधान देशको विशेषता (दुधालु गाई प्रतियोगिता) । नेपालमा यस्ता खालका प्रतियोगिता किन सञ्चालन हँुदैनन् ?
- राज थुलुङ
बेस्ट स्पिच एवार्ड जित्न सफल भएकोमा प्रवेश झालाई बधाई छ (मिस्टर युनिभर्सल एम्बेसडर) । अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउन सफल हुनुभएकोमा हामीलाई गर्व लागेको छ— निरन्तर प्रगतिको कामना ।
- मुक्ति झा, कमल झा
नयाँ–नयाँ प्रविधि, एप्स तथा ग्याजेट्सले गर्दा एकदम सहज भएको छ (हाइटेक तिहार) । यद्यपि रमाइलो त पहिलेकै तिहारमा हुन्थ्यो । प्रविधिले गर्दा कतिपय कुरालाई सस्तो र कम महत्व बनाइदियो ।
- लीला बस्याल
चाड एउटै भए पनि मनाउने तरिका मात्र फरक रहेछ (दीपावली मनाउने अनौठो शैली) हामी जो जहाँ रहे पनि आफ्ना चाडबाड तथा संस्कारहरूलाई बिर्सनु हुँदैन ।
- सिद्ध काफ्ले
सबैले आ–आफ्नो क्षमता उत्कृष्ट रूपमा प्रदर्शन गरुन् (पाँच सुन्दरीको बिदाइ) । कुनै न कुनै पुरस्कार हात पार्न सफल हुनुहोस् भन्ने शुभकामना छ ।
- रुबेल शाह
यो त हाम्रो आस्था हो (समय सन्दर्भ : गोरु पुज्ने चाड) । हाम्रो परम्परा एवं संस्कृतिको आफ्नै सौन्दर्य छ ।
- दिनेश पाण्डे
ओहो ! यस्तो पनि प्रतिस्पर्धा (जनावरहरूका रमाइला प्रतिस्पर्धा) अचम्मका प्रतिस्पर्धाका सम्बन्धमा जानकारी पाउँदा रमाइलो लाग्यो ।
- सुनिता श्रेष्ठ
हास्यकलाकार जितु नेपालको देउसी–भैलो रमाइलो लाग्यो (जितु नेपालको चुनावी देउसी–भैलो) । समसामयिक राजनीतिमाथि तिखो व्यंग्य प्रहार गर्नुभएको छ ।
- गोपाल महरा