भारतको कोलकातामा हुर्किएकी गायिका मौसमी गुरुङको सांगीतिक यात्रामा भाइ सचिन गुरुङले पूरै साथ दिइरहेका छन् । ५ वर्षको उमेर ग्याप भएका गुरुङ दिदीभाइसँगै पढ्थे–खेल्थे । घरमा आएर सँगै गीत गाएका–नाचेका सम्झना उनीहरूसँग छन् । काठमाडौं आएपछि मौसमी गायनमा लागिन् भने भाइ सचिनले त्यसमा निकै सपोर्ट गरे ।
सुरु–सुरुमा मौसमीलाई कन्सर्टमा पुर्याउने, लिन जाने, स्टुडियोमा पुर्याउने जिम्मा सचिनकै थियो । मौसमीका हरेक कमीकमजोरीहरू नडराई, नलजाई अनि नरिसाइ भन्थे सचिन । यसो गर्नु, यसो नगर्नु भनेर सुझाव पनि दिइरहन्छन् उनी । जीवनका धेरै मोडमा सचिनले नै सम्हाल्दै आएका छन् मौसमीलाई । उमेरले भाइ भए पनि सचिन एकदमै ज्ञानी र परिपक्व छन् । अहिले पनि कुनै गीतको अफर आउँदा मौसमी गीतको डमी भाइलाई नै सुन्न दिन्छिन् ।
भाइले यो गीत ठीक छ, राम्रो छ भनेपछि मात्र मौसमी उक्त गीत गाउँछिन् । मौसमीका अनुसार भाइको निर्णय नै उनलाई सही जस्तो लाग्छ । मौसमी एरेञ्जर तथा कम्पोजरहरूलाई गीतका लागि भनिरहेकी हुन्छिन् तर बिर्सिहाल्ने उनको बानी छ । हरेक समय भाइले नै उनलाई सम्झाउँछन् । सचिन आफैंले मौसमीको युट्युब च्यानल खोलिदिएका छन् । च्यानलमा भिडियोहरू सम्पादन गर्दे हाल्ने काम पनि भाइ सचिनले नै गरिदिन्छन् ।
समयको मागअनुसार चल्नुपर्छ भनेर दिदीलाई फेसबुक लाइभ जस्ता टेक्नोलोजीको ज्ञान पनि दिइरहन्छन् सचिन । भाइको टर्निङ प्वाइन्टमा मौसमीको पनि ठूलै हात छ । एक्लो छोरालाई विदेश नपठाउने आमा–बुबाको जिद्धीमा मौसमीले नै अडान लिइ पढ्न विदेश पठाएकी हुन् । मौसमी सचिनलाई भाइ वा साथीभन्दा पनि गाइडका रूपमा लिन्छिन् ।
समान पक्ष : दुवैमा रमाइलो गर्नुपर्ने, गाउनु पर्ने बानी छ । उनीहरू घरमै क्याराओके राखेर रातभरि गीत गाउँछन् ।
असमान पक्ष : मौसमीको बोली सफ्ट छ भने सचिन कडा र ठाडो बोल्छन् ।