साप्ताहिक संवाददाता
तिहार कत्तिको लागेको छ ?
गत मंगलबारदेखि नै तिहारको रमझम प्रारम्भ भैसकेको छ । त्यसै पनि मलाई तिहार सबैभन्दा मन पर्ने पर्व भएकाले अहिले म फेस्टिभ मुडमा छु ।
तिहार मनपर्ने कारण के हो ?
हाम्रा अन्य पर्वहरूमा जनावरको बलीलाई प्राथमिकता दिइन्छ । तिहार मात्र यस्तो एउटा पर्व हो, जसमा जनावरको पूजा गरिन्छ । त्यसकारण पनि मलाई यो पर्व विशेष लाग्छ ।
तिहारको कुन दिन विशेष लाग्छ ?
तिहारका पाँचै दिन उत्तिकै महत्वपूर्ण छन् । यद्यपि मलाई लक्ष्मीपूजा र भाइटीकाको दिन विशेष लाग्छ ।
भाइटीकाको दिन कति जनालाई टीका लगाइदिनुहुन्छ ?
एक जना मात्र भाइ (बिम्ब अधिकारी) छ । अघिल्ला दुई वर्षको भाइटीकामा भाइलाई टीका लगाइदिन पाएकी थिइन् । त्यसैले यसपटकको भाइटीका अझ विशेष हुनेछ ।
उपहारमा कत्तिको बार्गेनिङ चल्छ ?
मेरो भाइ प्यारो छ, त्यसैले बार्गेनिङ गरिरहनु पर्दैन । भाइले मलाई पैसा नै दिन्छ (आमाले दिएको), म उसैलाई मनपर्ने कुरा उपहार दिन्छु ।
निर्मात्री हुन लागिएछ, कस्तो चलचित्र बनाउन लागेको ?
कोहलपुर एक्सप्रेस शीर्षकको चलचित्र निर्माण गर्दैछु । तिहारलगत्तै छायांकन प्रारम्भ हुने यो चलचित्रमा कोहलपुरमा घटेको एउटा घटनालाई चित्रण गरिनेछ ।
चलचित्र ऐश्वर्यको प्रचार–प्रसारमा साथ नदिएको चर्चा छ नि ?
त्यस्तो होइन । आफूले अभिनय गरेका हरेक चलचित्रको प्रसार–प्रसारमा म उपलब्ध भैरहेकी हुन्छु । ऐश्वर्यको युनिटले नयाँ अभिनेत्रीलाई ब्रान्डिङ गर्ने निर्णय गरेकाले सहमतिअनुसार नै म प्रचार–प्रसारमा अघि नबढेकी हुँ ।
ऐश्वर्यमा तपाईंको भूमिका कस्तो छ ?
मैले रानी नाम भएकी युवतीको चरित्र निर्वाह गरेकी छु, जो स्वतन्त्रता चाहन्छे । मेरो भूमिकामा चलचित्रको सस्पेन्स लुकेकाले सबै कुरा अहिले नै बताउन मिल्दैन । चलचित्र हेरेपछि दर्शकले रानीलाई आफ्नो मनमा बसाउनु हुनेछ भन्ने कुरामा ढुक्क छु ।