साप्ताहिक संवाददाता
डाक्टर नवीन शाह तथा डाक्टर नविता शाहबीच जम्मा एक वर्षको मात्र फरक छ । जनकपूर निवासी नवीन र नविताबीच धेरै कुरामा समानता छ । दुवै क्रिएटिभ छन् । सम्बन्ध दाजु–बहिनीको भए पनि बहिनी नविता परिपक्व तथा मोटिभेट गर्ने खालको भएकाले दाजु नवीनलाई अभिभावक नै मान्छिन् । दाइले हरेक कुरामा सल्लाह दिने हुँदा आत्मबल बढ्ने नविता बताउँछिन् ।
अध्ययनमा अब्बल नवीनले बहिनीलाई सबै विषय पढाउँथे, जसका कारण नविताले ट्युसन पढ्न बाहिर जानै परेन । उनीहरू एमबीबीएसको पढाइका लागि मात्र छुटेका थिए । नवीनले पाल्पास्थित मेडिकल कलेजबाट एमबीबीएस गरे भने नविताले छात्रवृत्ति पाएर पाकिस्तानमा अध्ययन गरिन् । डाक्टर भएर बिरामीको सेवा गरिरहेका यी दाजु–बहिनीमा अहिलेसम्म पनि हरेक काम आपसमा छलफल गरेर मात्र गर्ने बानी छ । आफ्नो मोडलिङप्रतिको रहरमा बहिनीले निकै सपोर्ट गरेको डा. नवीन बताउँछन् ।
दाजुले सधैं मानसिक एवं शारीरिक रूपमा फिट रहेर अध्ययनलाई राम्रो बनाउनुपर्छ भनिरहने हुँदा पनि आफ्नो पढाइ राम्रो हुँदै गएको नविता बताउँछिन् । नवीन र नवितालाई पढ्न, घुम्न तथा फिल्म हेर्नबाहिरका साथीभाइ चाहिँदैनन् । नवीन, नविता र अर्की बहिनी कविता नै एकअर्काका बेस्ट फ्रेन्ड हुन् । नवितालाई संसारमा सबैभन्दा बढी माया लाग्ने व्यक्ति पनि दाजु नवीन नै हुन् ।
समान पक्ष : दुवै मीठा–मीठा परिकार बनाएर खान रुचाउँछन् । खेलकुद तथा ग्याजेटमा पनि दुवैको उत्तिकै रुचि छ ।
असमान पक्ष : नवीन इनोसेन्स छन् । कुनै कुरा मन परेन भने रिसाइहाल्ने, कुनै पनि कुरामा रियाक्ट गरि हाल्ने बानी छ । उनी चिन्ने र चाहिनेसँग मात्र बोल्छन् भने रिसाउँदा फकाउन चाहिँ निकै सजिला छन् । नविता अरूको कुरा सुन्छिन् र सकेसम्म अरूका अघि कुनै प्रतिक्रिया जनाउँदिनन् । उनलाई छिट्टै रिस उठ्दैन तर रिसाएपछि फकाउन पनि उतिकै गार्हो छ ।