साप्ताहिक संवाददाता
आजबाट अक्टोबर २४ सम्म दक्षिण कोरियाको सोल ड्रागन सिटीमा संचालन हुने ‘द ब्राइड अवार्डस २०१७’ मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् । काठमाडौं कोटेश्वर निवासी २० बर्षिया सिम्रन नेक्स्ट मोडल्स नेपालको आयोजनामा सम्पन्न तेस्रो संस्करणको मोडल हन्ट नेपाल नामक प्रतियोगिताका फस्ट रनर अप विजेता हुन् ।
एलबिएमए स्टारको आयोजनामा संचालन हुने तेस्रो संस्करणको द ब्राइड अवार्डस्ले मूलत: कोरिया लगायत विश्वमा देखिंदै आएको विवाह संस्कार प्रति घट्दो आकर्षण र विश्वासमा परिवर्तन गरी विवाह प्रति सकरात्मकता बढाउने हेतुले आयोजना गरिदै आएको प्रतिस्पर्धात्मक सचेतना कार्यक्रम हो । प्रतियोगिताले सहभागिलाई आवरणीय सुन्दरता, सकरात्मक सोच सहितको आकर्षक व्यक्तित्व, सामाजिक सक्रियता तथा स्वच्छ चरित्रलाई मुल्यांकनको मुख्य आधार बनाएको छ ।
बिभिन्न देशको कला संस्कृती, भेषभुषा समेत प्रदर्शन गर्ने उदेश्यले आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रममा सिम्रनले डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपालीपन झल्काउने मौलिक एवं राष्ट्रिय पहिरन सहित प्रस्तुति दिनेछिन् । सो प्रतियोगिताका लागि सिम्रनको प्रतिनिधित्वका लागि व्यवस्थापन तथा संयोजना नेक्सट मोडल्स नेपालले गरेको हो । कार्यक्रम विश्वका २५ मुलुकका ४५ जना मोडलहरुको सहभागिता रहने जनाइएको छ ।