साप्ताहिक संवाददाता
चलचित्र चपली हाइटको निर्माणपछि निर्माताका रूपमा स्थापित भएका चलचित्रकर्मी हुन् अर्जुन कुमार । यतिबेला उनी आफ्नो नयाँ चलचित्र फाटेको जुत्ता प्रदर्शन गर्ने चटारोमा छन् । कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रले गीत तथा ट्रेलरमार्फत राम्रो छाप छाडिसकेको छ । अर्जुन स्वयं पनि चलचित्रको व्यवसायिक सफलताप्रति ढुक्क देखिन्छन् । यद्यपि आफ्नै कलाकारहरूसँग भने चित्त दु:खेको छ । प्रचार–प्रसारको अन्तिम समयमा चलचित्रका मुख्य कलाकारहरूले भने जस्तो समय नदिएपछि अर्जुनको चित्त दुखेको हो ।
प्रसार–प्रसारमा झन्डै एक महिना समय दिने, फेसबुक/ट्विटरबाट एक महिनाभर स्टाटस राख्ने, रेडियो–टेलिभिजनमा खोजिएको बेला उपस्थित हुने, सञ्चारकर्मीले खोजेको बेला समय दिने जस्ता कुरा उल्लेखित सम्झौतापत्रमा हस्ताक्षर गर्ने कलाकारहरूले चलचित्र प्रदर्शन हुन दुई साता बाँकी छँदासमेत समय नदिएपछि निर्माताको चित्त दुख्नु स्वभाविक हो । निकेश खड्काद्वारा निर्देशित यो चलचित्रमा सौगात मल्ल तथा प्रियंका कार्की मुख्य भूमिकामा छन् ।