साप्ताहिक संवाददाता
एक महिनाअघि । गत अगस्टको अन्तिम साता । अमेरिकाको म्यासाचुसेट्स राज्यमा एउटा घोषणा भयो । घोषणामा भनियो, ‘लेडिज एन्ड जेन्टलमेन, एन्ड द विनर इज मेभिस वेन्जिक ।’
वास्तवमा यो कुनै राजनीतिक वा अन्य विशेष घोषणा थिएन । उक्त घोषणा विश्वकै सबैभन्दा ठूलो धनराशिको चिट्ठा हात पार्ने भाग्यमानी व्यक्तिको नामसँग सम्बन्धित थियो । मेभिस वेन्जिकले ७७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् ७५ करोड ८७ लाख डलर बराबरको चिट्ठा हात पारेकी थिइन् । ‘पावरबल’ नामले चिनिने उक्त चिट्ठा प्राप्त गर्न मरिहत्ते गर्ने अमेरिकी मात्र होइन, अमेरिकामा रहेका नेपाली वा अन्य मूलका मानिसहरूको कुनै पनि कमी छैन ।
यो ज्याकपट एकल टिकटमा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशिको पुरस्कार हो । यद्यपि योभन्दा ठूलो धनराशिको चिट्ठा पनि परिसकेको छ तर तीन जनाले बाँड्नुपर्ने भएकाले त्यो ठूलो राशिको चिट्ठामा दरिन नसकेको मात्र हो । यसअघि सन् २०१६ को जनवरीमा तीन जनाले करिब १ अर्ब ६० करोड डलरको ज्याकपट जितेका थिए । पावर बल नामको उक्त चिट्ठा २ तथा ३ डलरमा एउटा किन्न पाइन्छ । त्योभन्दा माथि नम्बरका आधारमा जतिको पनि चिट्ठा किन्न पाइन्छ ।
नेपालीहरूले समेत चिट्ठा किनेर आफ्नो भाग्य परीक्षण गरिरहेका छन् । दुई–चार डलरमा खरिद गरिएको चिट्ठाले आफ्नो जीवनमा आमूल परिवर्तन ल्याउन सक्ने हुँदा आफूले केही बढी नै चिट्ठा किन्ने अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरू बताउँछन् ।
अमेरिकाका विभिन्न राज्यमा सरकारले छुट्टाछुट्टै चिट्ठा सञ्चालन गर्ने भए पनि पावरबल र मेगामिलियन भने केन्द्र सरकार मातहतको निकाय ‘लट्री कमिसन’ ले सञ्चालन गर्छ । यस्ता चिट्ठा हप्तामा दुई पटक खुल्छन् भने कसैलाई चिट्ठा नपरे पुरस्कारको रकम खप्टिँदै जान्छ । यसरी चिट्ठाको रकम बढ्दै गएर पुरस्कार रकम ठूलो भएपछि चिट्ठा किन्नेहरूको भीड अझ बढ्छ ।
अमेरिकामा नेपालीहरूले पनि छिटपुट रूपमा चिट्ठा जित्नै आएका छन् । सानोतिनो रकम जिते पनि सबैभन्दा ठूलो रकम जित्ने नेपाली सानफ्रान्सिस्कोमा बस्दै आएका महेन्द्र केसी हुन् । केसीले सन् २०१४ को मे महिनामा १९ लाख ६२ हजार डलरको मेगामिलियन चिट्ठा जितेका थिए ।
यसैगरी गत वर्ष फेब्रुअरीमा नर्थ टेक्सासमा नेपालीले सञ्चालन गरेको एक स्टोरबाट बेचिएको पावरबल चिट्ठा परेपछि उक्त स्टोरले १० लाख डलर अर्थात् १० करोड रुपैयाँ जितेको थियो । स्टोरबाट बिक्री भएको पावरबल ज्याकपट चार जनाले पाएपछि स्टोरले कमिसनबापत १० लाख डलर प्राप्त गरेको हो । चन्द्र शिवाकोटी तथा कुमार शिवाकोटीले चलाएको एप्पल ट्री फुडमार्टले उक्त रकम प्राप्त
गरेको थियो ।
पावरबल चिट्ठा सन् १९८८ मा अमेरिकामा सुरु भएको थियो । त्यतिबेला यसलाई लोट्टो अमेरिकाको नामले चिनिन्थ्यो । सन् १९९२ मा यसको नाम फेरेर पावरबल बनाइएको हो । सरकारले नै चलाउने यस्तो चिट्ठा अस्ट्रेलिया, बेलायत आदि धेरै विकसित देशमा निकै लोकप्रिय छन् । चिट्ठाबाट उठेको रकम सरकारले आफ्ना नागरिकको शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा खर्च गर्छ ।
एउटा पावरबल चिट्ठा किन्न दुई डलर तिर्नुपर्छ । ‘पावरप्ले’ सहित किन्ने हो भने थप १ डलर लाग्छ । मेगामिलियनको एक डलर तथा मेगाप्लेसहितको चिट्ठाका लागि थप एक डलर तिर्नुपर्छ । मेगा मिलियन्स सन् २००२ मा अमेरिकामा सुरु भएको हो । सन् २००२ को मार्च १७ मा पहिलो पटक खोलिएको उक्त चिट्ठामा एक व्यक्तिले २८ मिलियन डलर जितेका थिए । यो चिट्ठाका अधिकांश खेलाडी टिनएजर छन् भने यसको ब्रान्ड एम्बेसडरसमेत टिनएजर नै हुन् ।
मेगा मिलियन्सको इतिहासमा सबैभन्दा बढी राशिको चिट्ठा सन् २०१२ को मार्च ३० मा बाँडिएको थियो, जसअन्तर्गत तीन राज्यका टिकट क्रेताले ६ सय ५६ मिलियन डलरको पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी सन् २०१३ को डिसेम्बर १७ मा क्यालिफोर्निया र जर्जियाका टिकट क्रेताले ६ सय ४८ मिलियन डलरको पुरस्कार प्राप्त गरेका थिए ।
विश्वमा प्रतिष्ठित मानिएको अर्को चिट्ठा युरोमिलियन्स हो । यसलाई संसारकै पहिलो अन्तर्राष्ट्रिय लट्री गेम पनि मानिन्छ । सन् २००४ मा यसको सुरुवात भएको थियो । फेब्रुअरी १३ मा फ्रान्सको पेरिसमा यसलाई सार्वजनिक गरिएको थियो । प्रारम्भमा स्पेन, फ्रान्स र बेलायतले मात्र यसमा भाग लिएका थिए । यद्यपि त्यसपछि यसमा ६ वटा देश अस्ट्रिया, बेल्जियम, आयरल्यान्ड, लक्जेमबर्ग, पोर्चुगल तथा स्विट्जरल्यान्ड थपिए ।
युरोमिलियन्स ज्याकपटमा न्यूनतम १ करोड २० लाखदेखि १९ करोड डलरसम्म प्राप्त हुने सम्भावना हुन्छ । यसमा सहभागी हुनेहरूले बढीमा पाँचवटै नम्बर मिलाउनुपर्छ । यद्यपि दुईवटा नम्बर मिलेदेखि नै सामान्य पुरस्कार प्राप्त गर्न सकिन्छ ।
अघिल्लो शुक्रबार युरोमिलियन्स ज्याकपटमा सर्वाधिक राशिको चिट्ठा अर्थात् १६ करोड ७० लाख पाउन्डको पुरस्कार परेको घोषणा भयो । स्पेनबाट बिक्री गरिएको उक्त टिकटका धनी को हुन् भन्ने कुरा अझै पत्ता लागेको छैन । यदि उक्त चिट्ठाका मालिक पत्ता लागे भने यो युरोमिलियन्सको हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार हुनेछ ।
युरोमिलियन्सको पहिलो पुरस्कार आयरल्यान्डकी ४५ वर्षीया महिला डोलोरस म्याकनमाराले सन् २००५ मा जितेकी थिइन् । सर्वाधिक धनराशिको युरोमिलियन्स सन् २०११ को अगस्ट १२ मा कोलिन र क्रिस वेयरले जितेका थिए । उनीहरूले उक्त चिट्ठाबापत १६ करोड १६ लाख पाउन्ड अर्थात् १८ करोड ५० लाख डलर प्राप्त गरेका थिए ।
न्युयोर्कको पुतनाम काउन्टीको ब्रुस्टर भन्ने स्थानमा २०७३ सालको वैशाखको अन्त्यतिर नेपालीले नै सञ्चालन गरिरहेको स्टोरबाट चिट्ठा किनेका २३ वर्षीय डर्विन एड्रिलो पोर्टिलो एकाएक करोडपति बन्न सफल भए । सधै एक–दुई डलरको मात्र चिट्ठा किन्ने डर्विनले त्यसदिन पाँच डलरको चिट्ठा किनेका थिए । चिट्ठा स्क्र्याच गरी हेर्दा त्यहाँ उनले जीवनभर साताको २ हजार ५ सय डलर प्राप्त गर्ने कुरा उल्लेख गरिएको थियो ।
चिट्ठाको उक्त नतिजा देखेर डर्बिन एक छिन त अचम्मित भए, तर उनले यो कुरा आफ्ना दाजुलाई मात्र बताए । एक्कासि न्युयोर्क लट्रीले आएर तिमीहरूको स्टोरमा ठूलो धनराशिको चिट्ठा पर्यो भनेर स्टिकर टाँसेपछि मात्र यो कुरा थाहा पाएको स्टोर सञ्चालक राज बुढाथोकीले बताएका थिए ।
अर्का नेपाली नागरिक रामकृष्ण भण्डारी पनि विदेशी भूमिमा १० लाख अमेरिकी डलर अर्थात् करिब १० करोड ७० लाख नेपाली रुपैयाँको चिट्ठा जितेर भाग्यमानीमा दरिएका छन् । संयुक्त अरब इमिरेट्स अर्थात युएईको अबुधाबीस्थित एक कम्पनीमा कार्यरत भण्डारीले सेन्सेसनल बिग टिकट ड्र–१७१ मा मोटो रकमको उक्त चिट्ठा हात पारेका हुन् ।
डिएफएस अबुधाबीको वेबसाइटमा सेप्टेम्बर ५ तारिख सोमबारका दिन चिट्ठाको नतिजा प्रकाशित गरिएको थियो जसको शीर्ष स्थानमा नेपाली नागरिक रामकृष्ण भण्डारीको टिकट नम्बर २३४१७ उल्लेख गरिएको थियो । भण्डारीलगायत अन्य १४ जना विजेताको नाम पनि उक्त सूचीमा समावेश थियो । बिजेता १५ जनामध्ये १० जना भारतीय थिए भने अन्य दुई फिलिपिन्सका नागरिक थिए । एक पाकिस्तानी तथा एक जिम्बाब्वेका नागरिकले समेत उक्त चिट्ठा जितेका थिए ।
भाग्य र मेहनतले करोडपति
भारतीय टेलिभिजन च्यानल सोनीबाट प्रसारण हुने कौन बनेगा करोडपति ? निकै लोकप्रिय कार्यक्रम मानिन्छ । उक्त कार्यक्रममा सही उत्तर मिलाउने धेरैले प्रशस्तै रकम कमाएका छन् । यद्यपि अहिलेसम्म पनि सुशीलकुमारको नाम भने धेरैले लिने गरेका छन् ।
सुशीलकुमारले सन् २०११ मा उक्त कार्यक्रममा भाग लिएर ५ करोड भारतीय रुपैयाँ जितेका थिए । कर कटाउँदा उनले ३ करोड ६० लाख रुपैयाँ बुझे । एक पटक उनको उक्त सबै पैसा सकिएको र उनी फेरि पहिलेकै अवस्थामा पुगेको समाचार भाइरल भएको थियो । यद्यपि सुशीलले उक्त कुराको खण्डन गरेका छन् ।
करोडपति बन्न को चाहँदैन ? तर त्याग र मेहनतबाट मात्र करोडपति बन्न सम्भव छ भनिन्छ । कतिपयले पुख्र्यौली रुपमै करोडपति बन्ने सौभाग्य पाएका हुन्छन् ।
कतिपय अवस्थामा सोच्दै नसोचेको समयमा पनि मानिसहरू करोडपति बनेका समाचार आउँछन् । यस्ता कतिपय समाचारमा नेपालीहरू पनि अटाएको पाइन्छ । रातारात कुनै चमत्कार भएर वा चिट्ठा परेर करोडपति बनेकाहरू पनि यो समाजमा प्रशस्तै छन् ।