साप्ताहिक संवाददाता
चलचित्र झ्यानाकुटीमार्फत अभिनेत्रीबाट निर्मात्री भएपछि त्यसै पनि निशा अधिकारीको व्यस्तता चुलिएको छ । त्यसै पनि यो चलचित्रको प्रदर्शन मिति विगतमा दुई पटक परिवर्तन भैसकेको छ । अहिले आएर झ्यानाकुटी मंसिर १ गते प्रदर्शनमा आउने निश्चित भएको छ ।
आफ्नो लगानीको पहिलो चलचित्र तेस्रो पटक तोकिएको मितिमा प्रदर्शन हुने निश्चित भएलगत्तै निशालाई अर्को टेन्सन थपियो । उनले अभिनय गरेको हसनरजा खानको चलचित्र रोमियो पनि मंसिर १ गते नै प्रदर्शनमा आउने हल्ला चल्यो । आफ्नो लगानीको एउटा तथा आफूले अभिनय गरेको अर्को चलचित्र एकैदिन प्रदर्शन हुने भएपछि निशालाई टेन्सन हुनु स्वभाविक हो ।
यद्यपि, वितरकहरूसँगको लामो छलफल पछि निशाले उक्त सकसबाट मुक्ति पाएकी छिन् । रोमियो एक साताअघि नै सिनेमा हलमा आउने भएपछि निशाले सन्तोषको सास फेरेकी हुन् । तैपनि आफैं निर्मात्री भएको चलचित्रको प्रचार–प्रसारमा खटिने कि, पारिश्रमिक लिएर काम गरेको चलचित्रको प्रचार–प्रसारमा जुट्ने भन्ने कुराको सकस भने अझै बाँकी रहेको निशाको भनाइ छ ।