विदेशमा नेपाली रिभर गाइडको माग बढिरहेको छ । राम्रो कमाइ हुने भएकाले युवाहरू रिभर गाइड पेसातर्फ आकर्षित भैरहेका छन् । अमेरिका, नर्वे, बेलायत, इटाली, टर्की, भारत, भुटान, जर्मनी, अस्ट्रेलिया, जापान आदि देशमा यतिबेला ३ सयभन्दा बढी नेपाली र्याफ्टिङ गाइडले रोजगारी पाएका छन् ।
टर्की, आइसल्यान्ड, अस्ट्रेलिया, यूएई, अमेरिका, क्यानाडा, भुटान, नर्वे, स्पेन, बेलायत, श्रीलंका, अस्ट्रिया, जर्मनी आदि मुलुकका निजी कम्पनीहरूले ‘रिभर गाइड’ का लागि नेपालीहरूलाई पहिलो रोजाइमा राखेर रोजगारी दिइरहेका छन् ।
चरौंदी, धादिङका रिभर गाइड अरुण थपलिया तीन महिना नेपालमा तथा नौ महिना विदेशमा हुन्छन् । सन् २००८ मा रिभर फन कम्पनीबाट रिभर गाइडको पेसा सुरु गरेका थपलियाले भारत, टर्की, संयुक्त अरब इमिरेट्स, जापान, नर्वे आदि देश चहारिसकेका छन् । विभिन्न देशमा र्याफ्टिङ गाइड गरेबापत उनी मासिक ३ लाख रुपैयाँसम्म कमाउँछन् । रिभर गाइडको कमाइ देश हेरेर फरक–फरक छ ।
थपलियाको अनुभवमा टर्कीमा १ हजार डलर, नर्वेमा ३ हजार युरो, यूएईमा ९ सय डलर कमाइ हुन्छ ।
यतिबेला थपलिया आफ्ना सुरुवातका दिनहरू सम्झन्छन् । चरौंदीस्थित उनको जग्गाको छेउमा एउटा खोला थियो । विदेशी पर्यटकहरू आइरहने उक्त ठाउँमा उनी पौडी खेल्थे । त्यही बेला उनी विदेशी पर्यटकहरूको संगतमा पुगे । बिस्तारै पर्यटकहरूको झोला बोक्ने, उनीहरूको खाना बनाउने काम गर्न थाले । कायक र डुंगा चलाउँदा–चलाउँदै उनलाई यो पेसाले आकर्षित गर्यो ।
नेपाली रिभर गाइडहरू अहिले युरोप, अमेरिका तथा अस्ट्रेलियासम्म पुगिरहेका छन् । विदेशीहरू नेपालका रिभर गाइडको काम रुचाउँछन् । विदेशमा काम प्राप्त गर्न इन्स्ट्रक्टरले प्रमाणित गर्नुपर्छ । त्यसपछि मात्र नेपाली गाइडले नेपालबाहिर रोजगारी पाउँछन् । जापानमा मात्र अहिले झन्डै १ सय ५० नेपाली रिभर गाइड कार्यरत छन् । जापानको राम्रो कमाइले पनि धेरैलाई आकर्षित गरेको छ । नेपालमा र्याफ्टिङको सिजन सकिँदा जापानमा त्यसको सिजन सुरु हुन्छ । यसले गर्दा नेपाली गाइडहरू नेपाल र जापान दुवै देशमा काम गर्न सक्छन् । जापानका गिफु, होकाइदो, क्योतो, साइतामा आदि क्षेत्रका नदीहरूमा नेपाली गाइडले काम पाइरहेका छन् ।
सामान्यत: जापानमा एक जना रिभर गाइडले प्रतिदिन १० हजार रुपैयाँसम्म कमाउन सक्छन् । इन्टनेसनल र्याफ्टिङ फेडरेसनका इन्स्ट्रक्टर शुक्र तामाङ अन्तर्वार्ता दिएर छनौट भै जापान पुग्ने पहिलो नेपाली गाइड हुन् । तामाङले नेपाल–जापान आउजाउ गर्न थालेकै आठ वर्षभन्दा बढी भैसकेको छ । अरूभन्दा क्षमतावान् भएकाले नेपाली गाइडको माग बढी छ– तामाङले साप्ताहिकलाई बताए ।
नेपालको साहसिक जलयात्राका क्षेत्रमा सक्रिय नाम हो— मेघ आले । २७ वर्षअघि नै ‘रिभर गाइड’ बनेका आलेले जर्मनी, नर्वे, स्विट्जरल्यान्ड, अस्ट्रिया, बेलायत, टर्की, क्यानाडा तथा भारतका नदीमा र्याफ्टिङ गाइड गरेको अनुभव बटुलेका छन् । पर्यटनका लागि र्याफ्टिङको महत्वलाई अरू देशले ठूलो प्राथमिकता दिएका छन् । यूएई र बेलायतले अर्बौं डलर खर्च गरेर मानवनिर्मित नदी बनाएका छन् । आले भन्छन्– अमेरिकामा र्याफ्टिङका लागि विद्युत्गृह नै भत्काएर पानीको बहाव बढाइएको छ । नेपालमा र्याफ्टिङका लागि वर्षापछिको ६ महिना उपयुक्त मानिन्छ । नेपालमा अफ सिजन हुँदा नेपाल बाहिर बल्ल सिजन सुरु हुन्छ ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङका एजेन्ट्स (नारा) का अध्यक्ष नानीकाजी थापाका अनुसार विदेशमा पूर्णकालीन रिभर गाइडहरूले राम्रो कमाइ गरिरहेका छन् । नेपालमा एडमन्ड हिलारीले पहिलो पटक सन् १९६८ मा सुनकोसी नदीमा र्याफ्टिङ गरेको इतिहास छ । अमेरिकी र युरोपेलीहरूको रुचिमा नेपालमा र्याफ्टिङ सुरु भएको मानिन्छ । चितवनमा टाइगर टप्स होटल खोल्ने विदेशीहरूले हिमालयन रिभर एक्सप्लोरेसन कम्पनी मार्फत् सन् १९७५ पछि त्रिशूली नदीमा र्याफ्टिङको व्यवसायिक विस्तार गरेका थिए । आज ८ सयभन्दा बढी नेपाली र्याफ्टिङसँग सम्बन्धित सात दर्जनभन्दा बढी कम्पनीमा आबद्ध छन् ।
नेपाल सरकारको पर्यटन विभागमा दर्ता भएका ४० वटा कम्पनी छन् । बिनादर्ताका २० वटा छन् । विभिन्न कम्पनीले र्याफ्टिङका प्याकेज बनाएका छन् । ती कम्पनीले १ देखि १० दिनसम्मको र्याफ्टिङ प्याकेज चलाउँछन् । नेपाल सरकारले अरुण, तमोर, दूधकोसी, तामाकोसी, सुनकोसी, बूढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, भेरी, कर्णाली तथा सेती कर्णालीलाई तथा र्याफ्टिङका लागि खुला गरेको छ । विशेष गरी त्रिशूली र भोटेकोशी नदीमा रोमाञ्चक र्याफ्टिङ हुन्छ । नेपालका नदीहरू र्याफ्टिङका लागि संसारमै उत्कृष्ट मानिन्छन् । अन्तर्राष्ट्रिय र्याफ्टिङ एसोसिएसनले भोटेकोसीलाई संसारकै सातौं उत्कृष्ट गन्तव्य मानेको छ ।
कसरी तालिम लिने ?
नेपाली रिभर गाइडहरूलाई तालिमपछि अमेरिकाको रेस्क्यु–थ्री इन्टरनेसनल, ह्वाइट वाटर रेस्क्यु टेक्निसियन (डब्लूआरटी) तथा स्विफ्ट वाटर रेस्क्यु टेक्निसियन (एसआरटी) का प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्रदान गर्छन् । केही समययता नेपाल पर्यटन तथा होटल व्यवस्थापन एकेडेमी (नाथम) ले पनि छोटो अवधिको र्याफ्टिङ गाइड तालिम दिन थालेको छ ।