गृहमन्त्री खडानन्द र पत्रकार ।
पत्रकार : गृहमन्त्रीज्यू, सीमातिर धमाधम गोली चल्दैछ, सीमाको हालत धेरै खराब छ, यस विषयमा के भन्नु छ तपाईंको ?
खडानन्द : यस विषयमा मेरो भनाइ के छ भने एक–दुई हप्ताजति सीमालाई घरतिरै ल्याएर सुरक्षित राख्नुपर्छ ।
खडानन्द पढाउँदै ।
खडानन्द : भन, हाम्रो देशको शासन कसले गर्छ ....?
बिर्खे : विधिले ।
खडानन्द : को हो त्यो विधि भन्ने ....?
बिर्खे : थाहा छैन सर, तर बिहानको टिभी समाचारमा सुनेको, विधिको शासन ।
खडानन्द र बिरामी पत्नी ।
पत्नी : सुन त खडु, डाक्टरले मलाई स्वीजरल्यान्ड वा पेरिस गएर एक महिनाजति आराम गर्नु भनेको छ, हामी कहाँ जाने ?
खडानन्द : अर्को डाक्टरकहाँ जाने डार्लिङ !
खडानन्द कलेज पढ्दा ।
नेपालीका लेक्चरर : मैले आज बिहान यौटी सुन्दर युवती देखें । यसको भविष्य काल बताउनुहोस् ।
खडानन्द : त्यो युवतीलाई भोलि बिहानसम्ममा मायाजालमा फसाउँछु .... ।
खडानन्द र हरिबोलले दुईवटी युवतीलाई जिस्क्याउँदै पिछा गरे रक्षाबन्धनको दिन ।
ती युवतीले पसलमा पसेर २ वटा राखी किनेर खडानन्द र हरिबोललाई बाँधिदिए ।
खडानन्द : केही छैन हरिबोल, म तेरी बहिनीसँग बिहे गर्छु, तँ मेरी बहिनीसँग बिहे गर ।
कन्जुस खडानन्द र साथी हरिबोल जंगलको बीचको बाटो हुँदै कतै जाँदै थिए । खडानन्दको खुट्टामा निकै ठूलो काँडा बिझ्यो । उनको पैतालाबाट रगतसमेत बग्न थाल्यो ।
हरिबोल : के भो खडु ?
खडानन्द : काँडा बिझ्यो यार ।
हरिबोल : ओहो ! रगतै पो निस्किएछ त ।
खडानन्द : नयाँ चप्पल किन्या’ थ्यो, धन्न नलगाई आएँछु यार, नत्र त चप्पलै छेड्ने रै’ छ !