१४ वर्षको उमेरदेखि नाटकमा लागेकी हुन्— नानी थापा । उनका पाँचवटा एकल नाटक मञ्चन भैसकेका छन् । आफ्नै निर्देशन, लेखन तथा एकल अभिनय रहेको ‘जूनकुरी’ उनको पछिल्लो नाटक हो । मिस हेरिटेज इन्टरनेसनल–२०१४ की विजेता थापा फोटोग्राफर पनि हुन् ।
उनले अ ब्युटिफुल वुमन, बेचिएकी चेली, पुतली आदि गरेर आधा दर्जन नाटकमा काम गरिसकेकी छिन् । यति गर्दागर्दै पनि नानीको पढाइ कहीं–कतै बिग्रिएन मात्र, अब्बल नै रह्यो । नानीले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् । त्यसअघि नै उनले कानुन तथा समाजशास्त्रमा समेत डिग्री हासिल गरिसकेकी थिइन् ।
तपाईं जूनकीरी सम्म आइपुग्दा एकल नाटक मात्र गर्न रुचाउनुहुन्छ जस्तो देखिन्छ, किन ?
यो वान लेडी शो हो । म एकल नाटक नै गर्न रुचाउँछु । मैले नाटकलाई यति धेरै मेहनत गरेर सिर्जना गरेकी हुन्छु । त्यसमा अरू कुनै व्यक्ति हाबी भएर आउँदा मेरो पात्रलाई न्याय नहुने भएकाले म आफैंले तीनवटै भूमिका निर्वाह गर्दै आएकी हुँ ।
अभिनय, लेखन तथा निर्देशन सबै आफैंले गर्दा कत्तिको गार्हो हुँदो रहेछ ?
गाह्रो त भैहाल्छ । समय व्यवस्थापन गरेर काम गर्दा त्यस्तो समस्या चाहिँ हुदैन । मैले जहिले पनि कुनै काममा हात हालेपछि समय व्यवस्थापन गरी योजना बनाएर काम गर्ने गरेकी छु । योजना बनाएर काममा लागि पर्दा आफ्नो लक्ष्य पूरा हुन्छ । काम गर्दै जाँदा अहिले नाटक मेरा लागि थेरापी नै भएको छ ।
तपाईंको पाँचौ नाटक जूनकीरी कस्तो नाटक हो ?
यो एकल नाटक हो । यसमा हाइप्रोफाइल कल गर्लको स्टोरी छ । ६० देखि ७० को दशकमा एउटा पात्रले जीवन धान्न गरेको संघर्ष छ । यसमा विभिन्न सामाजिक विषयवस्तुहरू समेटिएका छन् । यो नाटकले महिला सशक्तीकरणको सन्देश बोकेको छ ।