साप्ताहिक संवाददाता
कृष्ण धरावासीको कृतिमा आधारित ‘झोला’ निर्माण टिमले अर्को चलचित्र पनि महिला संवेदनाका विषयमै बनाएको छ । झोला निर्माण पछि राम्रो प्रतिकृया पाएको यो टिमले दाईजो प्रथाले समाजमा ल्याउने विकृतिका बारेमा समाजलाई सचेत बनाउन ‘भोर’ नामको चलचित्र निर्माण गरेको छ । बिना प्रचार नै चलचित्रको छायांकन सकेर चलचित्र यूनिटले खबर सार्वजनीक गरेको छ ।
यादवकुमार भट्टराईको निर्देशनमा बनेको उक्त चलचित्रको सम्पूर्ण छायांकन जनकपुरमा गरिएको फिल्म यूनिटले जनाएको छ । मधेशमा जरो गाडेर बसेको दाईजो प्रथाको विषयलाई चलचित्रमा समेटिएको निर्देशक भट्टराईले बताए । राज तिमिल्सिना र रामगोपाल थापाले निर्माण गरेको चलचित्रमा कार्यकारी निर्माताका रुपमा देवेन्द्र प्रसाद सुवेदीले लगानी गरेका छन् ।
चलचित्रमा मूख्य पात्रको रुपमा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुरले अभिनय गरेका छन् । उनीसँगै मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरुले अभिनय गरेका छन ।