साप्ताहिक संवाददाता
नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्न थाल्दाका खेलाडी हुन्— मनोज कटुवाल । उनकै पुस्ता हो, जसले पहिलो पटक यू–१९ विश्वकपमा तहल्का मच्चाएको थियो । यस अर्थमा मनोज अब्बल दर्जाको अन्तर्राष्ट्रिय क्रिकेटको स्वाद चाख्ने पहिलो पुस्ताका नेपाली खेलाडीमध्ये एक हुन् । अहिले प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका मनोजले नेपाल प्रहरीको क्रिकेट टिम हेर्छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको पछिल्लो प्रदर्शनका सम्बन्धमा मनोजसँग गरिएको पाँच प्रश्न ।
हङकङसँगको खेल हार्नुका पछाडि के कारण थियो ?
यसपटक हङकङविरुद्ध उत्रिएको टिम सन्तुलित थिएन । त्यसमा ब्याट्सम्यानहरूमा धेरै कमजोरी देखियो । सानो मैदानमा प्राप्त १ सय ९५ रनको लक्ष्य पछ्याउनुपर्ने थियो ।
घरेलु प्रतियोगिता नहुँदा अभ्यासको पनि कमी भयो ?
त्यो समस्या त देखियो नै, अभिभावक संस्था नेपाल क्रिकेट संघ नहुँदा समेत उत्तिकै समस्या छ । यी सबैको समाधान चाहिन्छ । त्यसपछि दुई अथवा तीन दिनको क्रिकेटको पनि आवश्यकता हुन्छ ।
अभ्यासमा पनि हामीले राम्रा प्रतिद्वन्द्वी पाइरहेका छैनौं कि ?
भारतमा अभ्यास खेल खेल्दा हामीले राम्रो प्रतिद्वन्द्वी नै पाउँदैनौं । अभ्यासमा हामीले आफू भन्दा बलिया प्रतिद्वन्द्वी पाउनुपर्छ जुन श्रीलंका र बंगलादेशमा मात्र सम्भव हुन्छ । भारतमा अभ्यास गर्दा निकै कमजोर टिमविरुद्ध खेल्नुपरिरहेको छ ।
खेलाडी छनौटमा पनि समस्या देखिएका छन् ?
अहिले प्रशिक्षक र कप्तानले नै टिमको छनौट गरिरहेका छन् । छनौटमा प्रसस्तै कमजोरी देखिएको छ । पुरानै खेलाडीमा बढी विश्वास गरिएको छ । नेटमा गरिएको प्रदर्शनका आधारमा खेलाडी छनौट भैरहेका छन् । पछिल्लो पटक भएको पीएम कपमा राम्रो खेल्ने प्रतिभाशाली खेलाडीलाई समेत बेवास्ता गरिएको देखियो ।
ट्वान्टी–२० क्रिकेटको प्रभाव पनि देखिएको हो त ?
नेपालमा लामो संस्करणका क्रिकेट हुन छाडेका छन् । खालि ट्वान्टी–२० क्रिकेट मात्र हुन्छ । हङकङविरुद्धको खेल हेर्दा धेरै खेलाडी ट्वान्टी–२० क्रिकेटको प्रभावमा रहेको देखियो ।