साप्ताहिक संवाददाता
जुनसुकै मौसमका लागि जिन्सको फेसन सदावहार मानिन्छ । जिन्समा अहिलेका आधुनिक पुस्तादेखि उमेरले डाँडो काट्दै गएका पुस्तासमेत ठाँटिँदै आएका छन् ।
पहिलो पटक जिन्स उत्पादन गर्ने र यसको अवधारणा ल्याउने स्वीस बैंकर जिन–ग्याब्रिल एनार्ड र उनका
भाइ ज्याक्स हुन् । उनीहरूले व्यवसायिक हिसाबले जिन्सको अवधारणालाई अघि बढाएका थिए । अन्तत: जिन्सले विश्वभर व्यापक रुचाइएको लोकप्रिय पहिरनको मान्यता पायो ।
सन् १९६० ताका लोकप्रिय फेसनका रूपमा विश्व बजारमा छाएको जिन्स प्रारम्भदेखि नै पारखीहरूको पहिलो रोजाइमा रहँदै आएको छ । जिन्सलाई सुरु–सुरु हिप्पी कल्चरका रूपमा पनि चिनियो । जिन्सले युवा पुस्तामा गहिरो छाप बनाएको छ । अहिले पुरुषका लागि पाइन्ट र कोट तथा महिलाका लागि स्कर्ट, पाइन्ट र कोट लोकप्रिय जिन्स आइटम मानिन्छन् ।
नेपालमा जिन्सको प्रभाव
समयको गतिसँगै जिन्सको फेसनमा नयाँ–नयाँ प्रयोग हुने क्रम बढ्दो छ । जिन्सको प्रभावबाट नेपाली बजार पनि अछुतो छैन । हाल नेपालमा नेपाली स्टाइल झल्कने जिन्सका पहिरनसमेत बन्न थालेका छन् । यसको एउटा उदाहरण हुन्– आईएफआईका फेसन डिजाइनर सुनिल महर्जन । जिन्स आफैंमा एउटा ब्रान्डेड पहिरन हो, जसलाई नेपाली मौलिकतामा समेत ढालिएको छ ।
जिन्सप्रति ९० प्रतिशत नेपाली युवायुवती आकर्षित भएको दावी महर्जनको छ । विगत ११ वर्षदेखि जिन्स डिजाइन गर्दै आएका महर्जनले पाटनमा जिन्सका विभिन्न पहिरन तयार गर्ने कारखाना नै खोलेका छन् । महर्जनले डिजाइन गरेका जिन्सका शोरुम मंंगलबजार, शंखमुल, बानेश्वर तथा लगनखेल जस्ता व्यावसायिक हबमा सञ्चालित छन् । जिन्सको डिजाइनमा निरन्तर सक्रिय महर्जनले उपलब्ध गराएका जिन्सका केही डिजाइन :
ग्रन्च
ग्रन्च पाइन्ट घुँडामा च्यातिएको हुन्छ । जालीजस्तो देखिने यो स्टाइल काटिएको हुन्छ । हेर्दा च्यातिएजस्तो देखिए पनि ग्रन्च डिजाइन गर्न त्यति सजिलो छैन । ग्रन्च मेसिनमा घोटेर बनाइन्छ । ग्रन्च स्टाइल तयार गर्ने मेशिन नै छुट्टै हुन्छ । यसरी डिजाइन दिने मेसिन तीन थरीका हुन्छन् ।
स्ट्रेचेवल
लगाउँदा तन्किने स्वभावको जिन्सलाई स्ट्रेचेवल जिन्स भनिन्छ । यो रबर मिक्स गरिएको फेब्रिकबाट तयार गरिन्छ, जसमा तन्किने स्वभावको हुन्छ ।
स्किनी
पछिल्लो समय निकै लोकप्रिय मानिएको जिन्समध्ये एक हो– स्किनी पाइन्ट । यो पाइन्ट बडीमा फिटिङ हुन्छ । स्किनी जिन्स पनि स्ट्ेरचेवल फेब्रिकबाट तयार गरिन्छ । यो पाइन्ट लगाउँदा टाइट देखिए पनि यसमा हिँडडुल गर्न र बस्न–उठन कुनै अप्ठेरो हुँदैन । यसलाई ग्रन्च पनि गर्न सकिन्छ । जिन्स डिजाइन गर्दा स्ट्ेरचेवल फेव्रिक, जिपर, बटन, धागोसहित मेसिनरी वर्क गरिन्छ । अहिले फेसनमा कालो, गाढा नीलो, हल्का निलो, आकाशी तथा खैरो रंगका जिन्स प्रचलित छन् । जाडोमा बाक्लो फेब्रिक प्रयोग गरिएको जिन्स बढी रुचाइन्छ भने गर्मीमा पातलो फेब्रिक प्रयोग गरिएको जिन्सको माग बढी हुन्छ ।
जिन्स लगाउँदा ध्यान दिनुपर्ने कुरा
सबै वर्गका महिला तथा पुरुषले जिन्स लगाउँछन् ।
आकर्षक देखिने भएकाले जिन्स सबैको रोजाइमा पर्छ ।
धेरैजसोले टाइट जिन्स लगाउँछन् । टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ ।
टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्ने हुँदा तिघ्रामा पीडा हुन सक्छ ।
टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्छ ।
लामो समयसम्म टाइट जिन्स लगाएर हिँडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ ।
जिन्स खरिद गर्दा
बजारमा जिन्सका दुई दर्जनभन्दा बढी ब्रान्ड छन् ।
जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनु राम्रो हुन्छ ।
टपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने किसिमको जिन्स खरिद गर्नुपर्छ ।
जिन्स किन्दा रंगमा ध्यान दिनुपर्छ । काममा जाँदा गाढा रंग तथा घुम्न जाँदा हल्का रंगको जिन्स लगाउनु उपयुक्त मानिन्छ ।