२०७२ भदौमा विदेशमा अध्ययन गर्ने लोभमा परेका उदयपुरका गोविन्दराज दाहालको १२ लाख रुपैयाँ ठगको हातमा पर्यो । घण्टाघरस्थित वल्र्डवाइड एजुकेसन इन्फर्मेसन सेन्टरका सञ्चालक हरिराम आचार्यले विद्यार्थी भिसामा क्यानाडा पठाइदिन्छु भन्दै दाहाललाई ठगेका थिए । आफू ठगिएको थाहा पाएपछि दाहालले प्रहरीमा उजुरी दिए । त्यसपछि प्रहरीले आचार्यलाई पक्राउ गरेर कारबाही अघि बढायो ।
गत वर्षको भदौमै पुतलीसडकस्थित गन्तव्य एजुकेसन फाउन्डेसनका पीताम्बर पन्तले लमजुङकी विद्यार्थी सीमा थापा र सिराहाका आशाराम यादवलाई बैंगलोरको हिलसाइड कलेज अफ फार्मेसी एन्ड रिसर्च सेन्टरमा पठाइदिने नाममा ३ लाख ९४ हजार असुलेपछि पन्त प्रहरीको फन्दामा परे ।
गोंगबुस्थित द वल्र्ड एन्ड मेमोरियल एजुकेसन कन्सल्टेन्सीको आवरणमा पनि यस्तै ठगी काण्ड मञ्चन भएको देखिन्छ । उक्त संस्थाले क्यानाडाको एक एग्रिकल्चर सेक्टरमा मासिक २ लाख १० हजार तलबको लोभ देखाएर ढकेन्द्र निरौला, तीर्थलाल श्रेष्ठ, सुदर्शन थापा, टंक तामाङ, शम्भु घिमिरे तथा अनिलकुमार लामाबाट ५५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी प्रहरीमा पर्यो । सोही उजुरीका आधारमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालक सुनसरीका युवक राईलाई गत वर्ष भदौ ६ गते पक्राउ गरेको थियो ।
बंगलादेश र चीनमा मेडिकल पढाउन पठाइदिने नाममा अवैध कलेजमा विद्यार्थीहरू भर्ना भएको जानकारी पाएपछि शिक्षा मन्त्रालयले गत कात्तिकमा बंगलादेशका ४ वटा मेडिकल कलेजसहित ८ वटा शैक्षिक संस्थामा नेपाली विद्यार्थी पठाउन नो अब्जेक्सन लेटर नदिने निर्णय नै गर्यो । १० भदौमा बंगलादेशले दिने छात्रवृत्तिमा नाम निकालिदिने भन्दै ठगी गर्ने मोहम्मद जौवाद अन्सारीलाई प्रहरीले पक्राउ गर्यो । उनले तीन जना विद्यार्थीबाट ३९ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।
क्यानाडाको पीआरसमेत उपलब्ध गराइदिने भन्दै १८ जनाबाट ६५ लाख १४ हजार रुपैयाँ ठगी गरेर ब्राइट फ्युचर क्यानेडियन कन्सल्टेन्सीका सञ्चालक फरार भए । अर्घाखाँची खनदहका ३६ वर्षीय घिमिरे थरका युवक फरार भएपछि ठगिएकाहरूले प्रहरीमा उजुरी दिए । महाराजगन्जमा लुकिरहेको अवस्थामा साउन १८ गते प्रहरीले उनलाई पक्राउ गर्यो ।
विदेशमा उच्च शिक्षाको नाममा ठगिने आफू ठगिएको सुइको पाएपछि कन्सल्टेन्सी मालिकबाट पैसा फिर्ता पाउन प्रहरी र शिक्षा मन्त्रालय धाउने विद्यार्थीहरूको फेरिहस्त लामै छ । शैक्षिक परामर्शका नाममा यस्ता कन्सल्टेन्सीबाट मानव बेचबिखनसमेत हुन थालेको उजुरी परेपछि गत वर्षको भदौमा त्यस्ता कन्सल्टेन्सीहरूलाई कानुनी दायरामा ल्याउन महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले एकै पटक उपत्यकाका दुई दर्जनभन्दा बढी कन्सल्टेन्सीमा छापा मार्यो । त्यतिबेला शिक्षा मन्त्रालयको परामर्श तथा प्रमाणीकरण शाखा एवं सम्बन्धित निकायमा दर्ता नै नभै गैरकानुनी रूपमा सञ्चालन भैरहेका ३२ वटा कन्सल्टेन्सीलाई प्रहरीले कारबाहीको दायरामा ल्याएको थियो । उक्त कारबाहीपछि
कन्सल्टेन्सीहरूले विदेशमा अध्ययन गराउने नाममा गर्ने शैक्षिक ठगीका घटनामा कमी आए पनि त्यस्ता क्रियाकलाप पूर्णरूपमा बन्द भने भैसकेको छैन ।
अपराध अनुसन्धान महाशाखाले २०७२/०७३ मा विभिन्न बहानामा ठगी गर्ने झन्डै ५० वटा कन्सल्टेन्सीमाथि मुद्दा चलाएको छ । चालू आर्थिक वर्षमा पनि प्रहरीले झन्डै दुई दर्जन कन्सल्टेन्सीमाथि ठगी मुद्दा चलाइरहेको छ । पछिल्ला १८ महिनामा मात्र महानगरीय अपराध महाशाखाले ठगीको अभियोगमा समातेका ३ सय १३ जनामध्ये झन्डै दुई दर्जन कन्सल्टेन्सीका नाममा ठगी गर्नेहरू छन् ।
‘हामीले छापा मारेपछि यस्ता घटनामा उल्लेख्य कमी आएको छ,’ महानगरीय अपराध महाशाखा पूर्वप्रमुख रहिसकेका डिजाईजी सर्वेन्द्र खनाल भन्छन् ।
शैक्षिक ठगीका यस्ता घटना प्रहरीकहाँ मात्र पुग्दैनन् । कतिपय घटना शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा त कतिपय घटना देशभरका ३ सय ६३ वटा कन्सल्टेन्सी आबद्ध रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा समेत पुग्ने गरेका छन् । इक्यानका अध्यक्ष प्रकाश पाण्डे आफूहरू विद्यार्थीहरू नठगिउन भन्नेमा सचेत रहेको दावी गर्छन् । पाण्डे भन्छन्— ठगीका सम्बन्धमा कतिपय निवेदन हामीकहाँ पनि आएका छन् । पाण्डेका अनुसार इक्यानले यस्ता शैक्षिक ठगी रोक्न छुट्टै अनुशासन समितिसमेत बनाएको छ ।
देशभित्रै पनि ठगी
नागार्जुन, काठमाडौंकी सायशा पन्त काठमाडौं विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत थिइन् । उनी १८ असोजमा हुने विश्वविद्यालयको एमबीबीएसको परीक्षामा उत्तिर्ण हुन नसकिने चिन्तामा थिइन् । यही चिन्ता निवारणको सजिलो सूत्रधारका रुपमा भेटिए, राजधानीको वल्र्डवाइड कन्सल्टेन्सीमा काउन्सिलिङ गर्ने गणेश अधिकारी ।
अधिकारीले सायशालाई आफू वल्र्ड वाइड कन्सल्टेन्सीमा काम गर्ने र डाक्टरहरूसँग आफ्नो राम्रो चिनजान भएको बताउँदै २ लाख रुपैयाँ दिए एमबीबीएस पास गराइदिने आश्वासन दिए । २ लाख रुपैयाँमा काठमाडौं विश्वविद्यालयजस्तो प्रतिष्ठित शैक्षिक संस्थाको एमबीबीएस परीक्षा उत्तीर्ण गर्न सकिने भएपछि सायशा मख्ख परिन् । यही कुरा उनले आमा विमला पन्तलाई सुनाइन् । विमलालाई छोरीको कुरामा विश्वास लागेन, उनी २ लाख रुपैयाँमा एमबीबीएस पास गराइदिने आश्वासन दिने पुतलीसडकस्थित वल्र्डवाइड कन्सल्टेन्सीका गणेश अधिकारीलाई भेट्न गइन् ।
अधिकारीसँग कुरा गरेपछि ठगी गर्न खोजेको विमलाको आशंकामा बल नै पुग्यो । उनले आफन्तहरूसँग पैसा दिएर एमबीबीइस उत्तीर्ण गर्न सकिने/नसकिने विषयमा छलफल गरिन् । पैसा दिएर नाम निकाल्न नसकिने निष्कर्षमा पुगेपछि विमलाले आफूलाई ठग्न खोजेको भन्दै महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा उजुरी दिइन् । प्रहरीले १२ असोजमा गणेशलाई पक्राउ गर्यो । उनले कन्सल्टेन्सीका सञ्चालक दीपककुमार साहले आफूलाई यस्तो गर्न लगाएको बयान दिएपछि प्रहरीले १३ असोजमा साहलाई समेत पक्राउ गर्यो ।
सायशा त ठगिनबाट जोगिइन तर परीक्षामा उत्तीर्ण गराइदिने वा इन्ट्रासमा नाम निकालिदिने प्रलोभनमा पनि विद्यार्थीहरू ठगिने गरेका छन् । २ चैतमा सेन्ट जेभियर्समा भर्ना गराइदिन्छु भन्दै डेढ लाख रुपैयाँ ठगपछि यहाँ बाबुराम सुवेदी र विमल खड्कालाई प्रहरीले प्रकाउ गरी कारबाही चलाएको छ । निजहरूले नागार्जुनका रविन धितालका छोराको नाम इन्ट्रान्समा निकालिदिने भन्दै उक्त रकम ठगेका थिए । एउटा कतिपय गुणस्तरहीन विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका र देशभित्र सम्बन्धन नलिइ चलाइएका कतिपय फर्जी कलेजले पनि शिक्षाका नाममा लाखौं रुपैयाँ ठगी गर्ने गरेका छन् । गत मंसिरमा धनगढीमा सिटिइभिटीको सम्बन्धन नै नलिई चलाइएको धनगढी मल्टी इन्स्टिच्युट अफ टेक्नोलोजीले १ सय १० जना विद्यार्थी भर्ना गरेर लाखौं रुपैयाँ ठगी गर्यो । १५ महिने भेटेनरी जेटिए, कृषि जेटिए तथा जुनियर कम्प्युटर आइटी पठाउने नाममा उक्त इन्स्टिच्युटले सम्बन्धन नै नलिई विद्यार्थी भर्ना गरेर मोटो रकम ठगी गरेको थियो ।
२०७२ को चैतमा झापामा पनि यस्तै ठगीकाण्ड बाहिर आएको थियो । सिटिइभिटीबाट सम्बन्ध नै नलिइ बिर्तामोड इन्स्टिच्युट अफ डेन्टल एन्ड हस्पिटलका नाममा विद्यार्थीहरूको भर्ना लिएर ठगी गरिएको तथ्य सार्वजनिक भएपछि उक्त कलेज नै बन्द भएको थियो । ३ साउनमा पुल्चोकले लिने बिईको इन्ट्रान्समा नाम निकालिदिने भन्दै ३ लाख ठगी गर्ने देव शर्मालाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।
सबै कुरा अर्कैलाई जिम्मा दिएपछि ठगिने हो
इक्यानमा विद्यार्थी ठगिएका उजुरी कति पर्ने गरेका छन् ?
इक्यानमा आएका उजुरीहरू हामीले गठनको गरेको अनुशासन समितिले हेर्छ । हाम्रो संस्थामा आबद्ध व्यवसायी एवं विद्यार्थीबीच भएका छिटफुट समस्या हामी कहाँ आउँछन् । पछिल्लो एक वर्षमा झण्डै ४ वटा यस्ता मुद्दा आएका थिए । हामीले ती समस्या समाधान गरेर पठायौं ।
यसमा कन्सल्टेन्सीहरूको माथि किन औला ठडिन्छ त ?
सबैभन्दा पहिले यो पेशालाई बुझ्नु आवश्यक छ । विद्यार्थीले शिक्षण शुल्क सबैभन्दा पहिले सम्बन्धित शिक्षण संस्थामा पठाउँछन् । शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएर नेपालका बंैकमार्फत त्यस्तो शूल्क पठाइन्छ । त्यसको सुरक्षा दिन हामीलाई त गार्हो हुन्छ भने अझ यहाँ लिइने सेवा शुल्कमा सजिलै ठगी हुने सम्भावना हुन्छ । त्यो कुरामा पनि हामीले नियमावलीमै विद्यार्थी, अभिभावक एवं रामर्शदातृबीच सम्झौता गरेर मात्र सेवा लिने–दिने व्यवस्था गर्न सुझाव दिएका छौं । कस्तो र कुन सेवा दिने ? सेवामा के–के दिने ? कति शुल्क लिने ? भन्ने कुरा सम्झौतामै उल्लेख गरेर मात्र सेवा दिने भनेका छौं । त्यसो हुँदा अभिभावक– विद्यार्थीहरूले लिने सेवा र कति शुल्क तिर्ने भन्ने कुरा पारदर्शी हुन्छ । यसबाट कसैले कसैलाई ठग्ने सम्भावना हुँदैन ।
यसमा राज्यको भूमिका के हुनुपर्छ ?
राज्यले ठोस र व्यवहारिक नीति बनाउनुपर्छ । राज्यले ठगीबाट जोगाउने नीति बनाउने कि ठग्नै नपर्ने र ठग्नै नसकिने नीति बनाउने ? राज्यले ठगीबाट जोगाउनेभन्दा पनि ठग्नै नसकिने र ठगिनै नपर्ने नीति बनाउनतिर लाग्नुपर्छ । विद्यार्थीको विमाका सम्बन्धमा पनि हामीले सुझावहरू दिएका छौं । विदेश पढ्न जाने विद्यार्थीले एक प्रतिशत शिक्षा सेवा कर राज्यलाई तिर्छन्, तर विदेशमा विद्यार्थी अलपत्र पर्दा राज्यले केही गर्दैन ।
के कारणले नेपाली विद्यार्थीहरू ठगिने गरेका छन् ?
विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयले व्यवस्थित रूपमै केही निश्चित बाटा तय गरिदिएको छ । यसमा अभिभावकहरू सचेत हुनुपर्छ, परामर्शदातालाई सेवा शुल्कमात्र बुझाउने हो । विदेश जाने भन्दैमा जो पायो त्यसैलाई जति भन्यो त्यति पैसा दिनु भएन । के कस्तो सेवा लिने ? त्यसबापत कति पैसा तिर्ने ? त्यो सम्झौतामा स्पष्ट हुनुपर्छ । विदेश जाने लोभका कारण, जसरी पनि जानुपर्यो भन्दै परामर्शदातालाई सबै शुल्क बुझाउँदा ठगिने सम्भावना बढी हुन्छ । त्यसैले शिक्षण शुल्क, टिकट शुल्कलगायतका शुल्कहरू आफैंले जुन—जुन निकायमा तिर्नुपर्ने हो त्यहीँ तिर्नुपर्छ । सबैकुरा अरूलाई
नै गर्न दिने, आफूले केही नगर्ने भएपछि मात्र यसरी ठगिने हो ।