पुनर्मिलन

  • लघु कथा

- प्रदीप सुवेदी

कार्तिक १४, २०७४

 

भाटभटेनी आउनु, यतै छु भनेपछि मनमा तरङ्ग छाइहाल्यो । लाग्दैथ्यो, पहिलोपल्ट भेट्दैछु । यसअघिका मात्र चार भेट मस्तिष्कमा रिलझैं घुमे । आजको भेट केही स्पेसल होस् भन्ने चाहना भयो । ठ्याक्कै एक वर्ष भएको थियो भेट नभएको । 

म बाहिर जाने भएपछि धेरै नजिक पुगेको सम्बन्ध पनि बिग्रिएको हो । सायद म काठमाडौंमै भएको भए के–के भैसक्थ्यो होला । पहिलो भेटमा विवाहको समझदारी गरेर छुटेका हामी चौथो भेटमा कहिल्यै नबोल्ने समझदारी गरेर छुटेका थियौँ । त्यो दिन मैले नै ब्लक गरेको थिएँ फेसबुकमा उनलाई । मोबाइलबाट उनीसँग खिचेका तस्बिर, नम्बरलगायत उनको सम्झना ताजा बनाउने सबै कुरा हटाएको थिएँ । आवेशमा सम्हाले आफूलाई, उनीप्रति पागल भएको मन कहाँ मान्थ्यो र उनीसँग नबोली ।

एयरपोर्टमा बोर्डिङ, चेकिङ सकेर प्लेनको प्रतीक्षामा थिएँ । उनलाई फोन नगरी मनले मानेन । आफैंसँग हारें र उनको नम्बर डायल गरें । मोबाइलबाट हटे पनि मनमा सेभ थियो उनको नम्बर । फोन उठेन । स्वभाविक थियो, किनभने मैले नै उनलाई भनेको थिएँ, मन थाम्न नसकेर कहिलेकाहीं फोन गर्न सक्छु, नउठाउनु ।

६० घण्टाभन्दा बढी भैसकेको थियो ब्लक गरेको पनि । अनब्लक गरें फेसबुकमा । रिक्वेस्ट पठाएँ अनि ‘जाँदैछु म, शुभयात्रा त भन’ भनेर मेसेज गरें । रिप्लाइको आश गर्दागर्दै फ्लाइटको टाइम भयो । फ्लाइट अवधिभर उनैलाई सम्झिरहें । उनैलाई सोचिरहें । हामी किन छुट्यौं । यो प्रश्नको गतिलो जवाफ म आफैंसँग छैन । उनको जिद्दी स्वभाव र मेरो आवेशको निर्णय हाम्रो सम्बन्धमा भारी भए । उनको विवाहको प्रस्तावलाई केही समयका लागि मात्र अस्वीकार गर्दा किन उनी यति निष्ठुरी बन्न खोजिन् । हुन त उनी मभन्दा व्यवहारिक केटी हुन् ।

बिदेसिनु रहर थिएन, फुलिरहेको प्रेमको फूल त्यत्तिकै छोडी हिडेको थिएँ । म विदेश गएको केही समयपछि हल्काफुल्का कुरा हुन थाल्यो । खुलेर कुरा नभए पनि मैले पुनर्मिलनका सम्बन्धमा सोच्न थालें । नेपाल आउनुअघि सोधें— केही चाहिएको भए भन्नु, उनले पोहोरकै वर्थ–डे गिफ्ट दिन बाँकी रहेको सम्झाइन् ।

गिफ्टचाहिँ केही बोकेको थिइनँ, खाली हात नै भाटभटेनी पुगें । उनीसँग भेट भयो, उस्तै मुस्कान थियो ओठमा, उस्तै चाहना थियो आँखामा, सायद मेरै पर्खाइमा थिइन् उनी । झ्याप्प अँगालिन, आँखामा आँसु टिलपिल थियो, आँट गरेर भनें, ‘ओई मुसी, तिम्रो गिफ्ट तिम्रो अँगालोमै छ, भगवान्ले पठाएको, स्वीकार गर ।’ फेरि आँखामा हेर्दै मुस्कुराइन्, खुसीले आकाश छोयो, पाउले धर्ती छोडेको आभास भयो, हामी कतिबेर अँगालोमै भयौं, पत्तै भएन ।

प्रकाशित :कार्तिक १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्